काठमाडौं । पाँच वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको अग्नि एयरको तीन वटा जहाज लिलामीमा विक्री हुने भएको छ । अग्नि एयरले तत्कालिन ग्राण्ड (मर्जर पछि हालको प्रभु)बैंकको ऋण चुक्ता गर्न नसकेपछि भएको आर्थिक संकटकको कारणले बन्द भएको यो वायुसेवा लिलामीमा जाने भएको छ ।

अग्नि एयरकाे फाइल तस्बिर
उक्त ग्राण्डले अग्निसँग भएको पाँचवटै जहाज लिलामी गरेर आफ्नो तत्कालिन समयमा ६५ करोड ऋण अशुल गर्ने प्रयास गरेको थियो ।
उक्त प्रयास अन्तिम समयमा विफल भएको थियो । त्यसपछि २०७० सालको असोजमा अग्निका जहाज सिम्रिक एयरलाइन्सले संचालन गर्ने सम्झौता तत्कालिन ग्राण्ड बैंकसँग गर्यो ।
अहिले यो बैंक प्रभुसँग मर्ज भएर विलय भैसकेको छ भने अग्निको ऋण पनि प्रभू बैंकसँगै रहेको छ ।
प्रभू बैैंले आफ्नो ऋण अशुल गर्न अग्निका २९ सिट क्षमताका ३ वटा जेट स्टीम नामक जहाज र यसका पाटपूर्जासमेत लिलामिमा राखेको छ । बाँकी १९ सिट क्षमतको डोर्नियर नामक दुई वटा भने सिम्रिक एयरले आवश्यक मर्मत गरेर उडाइरहेको छ ।
अग्नि एयरले लिएको ऋण पटकपटकको सार्वजनिक सूचना जारी गरेर चुक्ता गर्न आग्रह गर्दा अटेर गरेकै कारणले प्रभु बैंकले यसका जहाज लिलाम बढाबढबाट विक्री गरेर आफ्नो ऋण अशुल गर्ने भएको छ ।
अग्नि एयरका तत्कालिन संचालक सुधिर बस्नेत घरजग्गा व्यवासायमा डुवेका कारण उनको नाफामै उडान भइरहेको जहाजलाई पनि संचालन गर्न सकेनन् । वस्नेतले एयरलाइन्सबाट आएको रकम पनि अन्यत्रै लगानी गरेका कारण जहाज उठ्नै नसक्ने गरी थला परेको हो ।

नमस्ते एयरकाे फाइल तस्बिर
अग्नि संचालन गर्न चाहने नमस्ते एयरको सम्पतीसमेत लिलामीमा
प्रभु बैंकले २०६९ सालमा अग्नि एयरका जहाज संचालन गर्छु भनेर तयारी थालेको नमस्ते नेपालील एयरको पनि सम्पती लिलामीमा राखेको छ ।
नमस्ते एयरका संचालक राजु खत्री (केसी)ले अग्नि एयर संचालन गर्ने जहाजको लिवर्टीसमेत परिवर्तन गरेर नमस्ते एयर बनाइसकेको थिए ।
उनले जहाज संचालन गर्न ३० करोड लगानी पनि गरिसकेको अवस्थामा अग्निका सबै जहाज सिम्रिकले संचालन गर्ने भएपनि केसी जहाज संचालनबाट पछाडि हटेका थिए । जहाज संचालन गर्न बैंकबाट लिएको ऋण तिर्न नसकेपछि केसी र उनको श्रीमती रेखा बस्नेत (खत्री)को नाममा रहेको नमस्ते एयरको सम्पूर्ण सम्पतीसमेत लिलामिमा गएको छ । नमस्ते एयरको नाममा रहेको झापा र मोरङको सबै जग्गा पनि बैंकले लिलामीमा राखेको छ ।
सिम्रिकले २ वटा मात्रै जहाज बनाएर उडायो
सिम्रिक एयरलाइन्सले २०७० असोजमा अग्निका सबै जहाज संचालन गर्ने भनेर जहाजको व्यस्थापन सम्हालेको नमस्ते एयरबाट फिर्ता लिएको थियो ।
सिम्रिकले ऋणदाता बैंकबाटै जहाज लिएको थियो । सिम्रिकले अग्निका पाँचवटै जहाज संचालन गर्ने गरी लिएको भएपनि यसले २ वटा मात्रै आवश्यक मर्मत गरेर संचालन गर्यो । बाँकी तीन वटा भने अहिलेसम्म पनि विमानस्थलमै थन्किरहेको छ । सोही जहाजलाई बैंकले लिलामी गरेर आफ्नो ऋण अशुल गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
२०६९ सालमै नमस्ते एयरले अग्निले विभिन्न बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने ऋण सकार्न तयार भएर जहाज संचलन गर्न सुरु गरिसकेको थियो । नमस्तेले अग्निका जहाजमा ३० करोड लगानी गरिसकेपछि यसलाई पुनः रामेश्व थापा नेतृत्वको सिम्रिक एयरले लिएको थियो ।
त्यतिबेला अग्निले ६५ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तिय संस्थालाई तिर्नुपर्ने थियो । स्रोतका अनुसार हाल अग्निको प्रभु बैंकमा ३० करोड र नमस्ते एयरको २३ करोड ऋण रहेको छ । यही ऋण अशुल गर्न पनि बैंकले जहाज लिलामिमा राखेको हो ।