काठमाडौं । संसारमै धेरै संख्यामा ट्राफिक कारवाही हुने राजधानीहरुको सूचिमा काठमाडौं उपत्यका पहिलो नम्बरमा देखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका पुर्व प्रमुख समेत रहेका नेपाल प्रहरीका प्रमुख प्रकाश अर्यालले व्यवस्थापिका संसदको विकास समितिमा शुक्रबार आयोजीत छलफलमा भने–काठमाडौं उपत्यका संसारमै सबैै भन्दा धेरै नागरिकलाई ट्राफिक नियम उल्लंघन गगरेकोमा कारवाही गर्ने राजधानीका रुपमा स्थापित छ, हामी बर्षेनी ६ लाख भन्दा बढि नागरिकलाई उपत्यकामा मात्रै कारवाही गरिरहेका छौं ।’
उनका अनसार चालु आर्थिक बर्षको जेठ २६ गतेसम्ममा ५ लाख ६९ हजार ८ सय १५ जनालाई राजधानी उपत्यका भित्रै कारवाही गरिसकिएको छ । जबकी गत आवमा पनि ५ लाख ४८ हजार ४ सय ७० जनालाई उपत्यकामा कारवाही गरिएको थियो । बैशाख १ गतेदेखि हर्न बजाउन निषेध गरिएकोमा हालसम्म ५५०७ जनलाई कारवाही गरिएको छ ।
महाशाखाले जेष्ठ १६ गते देखि जथभावी बाटो काट्ने सर्वसाधारणलाई पनि २ सय रुपैंयाँ जरिवाना असुल्न थालेको थियो । जेठ २६ गतेसम्ममा जथाभावी बाटो काट्ने १० हजार ६ सय ३९ जनाबाट प्रति व्यक्ति २ सय रुपैंयाँ जरिवाना असुलिसकेको छ । गत आवमै उपत्यकामा १६६ जनाको सवारी दुर्घटनाका कारण मृत्यु भएको थियो भने २७५ जना गम्भिर घाइते भएका थिए ।
त्यस्तै, ३ हजार ९ सय १ जना सामान्य घाइते भएका थिए । प्रहरी प्रमुख अर्यालले कारवाहीको मात्रा न्युन भएकाले धेरै नागरिकलाई कारवाही गरिएपनि नियम उल्लघंनका घट्नामा कमि नआएको दावी गरे ।‘हामीले धेरै संख्यामा कारवाही गरिरहेका छौं, तर कारवाहीको जोखिम कम भएकाले नियम उल्लंघन घटेको छैन बरु बढेको छ, त्यसैले अब कारवाहीको मात्रा बढाउनुपर्छ’, अर्यालले भने ।
उता, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाले पनि जोखिमको मात्रा वृद्धि नगरि राजधानीको ट्राफिक व्यवस्थापन सहज नहुने बताए ।