काठमाडौं । काठमाडौैं महानगरपालिकाले आफ्नो बार्षिक आम्दानी बढाउन आगामी आर्थिक वर्ष २०७४/७५ बाटै आक्रामक रणनीति र योजना ल्याउने भएको छ । सफा, सुन्दर, व्यवस्थित र भव्य सहर बनाउन काठमाडौं महानगरपालिकाले आम्दानीको स्रोत बढाउने र सोही अनुसारको रकम परिचालन पनि गर्ने भएको छ ।
काठमाडौ महानगरपालिकाको हालको करिब ३ अर्बको आम्दानीलाई बढाएर आगामी आर्थिक वर्षभित्रै ६ अर्ब पुर्याउने र अर्को वर्ष १० अर्ब रुपैयाँ बनाउने गरी योजना बनाउन थालेको काठमाडौं महानगरपालिकाका सूचना अधिकृत बसन्त आचार्यले जानकारी दिए ।
आचार्यले दिएको जानकारी अनुसार साविकमा महानगरपालिकाले उठाउने करको दायरा बढाउनुपर्ने भएको छ । यसका लागि करको दायरा बाहिर रहेका हरेक पसलदेखि विभिन्न प्रकारका व्यापारी र कन्सल्टेन्सीसम्मलाई दायराभित्रै ल्याउने लागिएको छ । आम्दानी बढाउने र महानगरबासीको सेवा सुविधा र सहजताको लागि उक्त रकम खर्चने भएको छ ।
महानगरपालिकाले अहिले पनि सबै क्षेत्रका व्यवसायीसँग कर असुल गर्न सकेका छैन, यसलाई कसरी करको दायरामा ल्याउने र सिष्टम बनाएर सबैलाई त्यसले गाइड गर्ने भन्ने विषयमा आन्तरिक तयारी सुरु भइसकेको आचार्यले विकासन्युजलाई जानकारी दिए ।
महागरले यही असार ३० गतेको लागि नगरसभा बोलाएको छ ।
उक्त सभाबाट आगामी आवको बजेट, महानगरमा आउने नयाँ योजना र रणनीति तथा करको दायरा बढाउनेसहितको विषयमा निर्णय हुने जानकारी पनि आचार्यले दिए । संघीयतामा मुलुक प्रवेश गरिसकेको र कानूनले दिएको अधिकार प्रयोग गरेर अगाडि बढ्ने विषयमा महानगरले पनि आफ्नो गृहकार्य गरिरहेको उनको भनाइ छ ।
प्रमुख पर्यटकीय गन्तव्यमा निःशुल्क वाइफाइ
महानगरपालिकाले आगामी आवदेखि नै काठमाडौंका प्रमुख पर्यटकीय गन्तव्य र पुरातात्विक महत्वका स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध गराउने भएको छ ।
आचार्यका अनुसार महानगरले टेलिकम र एनसेलसँग सहकार्य गरेर इन्टरनेट सेवा दिने भएको छ ।
सेवाप्रदायकसँग प्रारम्भिक छलफल भैसकेको छ । अब आधाकारिक रुपमा कहिलेबाट र कुन ठाउँमा कसरी इन्टरनेट दिने भन्ने विषयमा निर्णय हुन मात्रै बाँकी रहेको आचार्यले बताए ।
उनका अनुसार पहिले प्रमुख पर्यटकीय गन्तव्य र पुरातात्विक क्षेत्रलाई केन्द्रित गरि इन्टरनेट सेवा दिइने छ । त्यसपछि काठमाडौैंका नगरपालिकामा यो सेवा दिने विषयमा छलफल हुने भएको छ । पहिले सेलेक्टेड प्लेसको लागि यस्तो इन्टरनेट सेवा दिइने छ । त्यसपछि महानगरका प्रमुख स्थान हुँदै काठमाडौंभित्रै सेवा दिने योजना महानगरले बनाएको छ ।
पर्यटकीय महत्व भएका सम्पदामा राखिने यस्तो निःशुल्क इन्टरनेटको सुविधाको लागि पर्यटकले प्रवेश शुल्कमा तिरेकै रकमबाट सेवा पाउने भएका छन् । पर्यटकले यो सेवाको लागि अतिरिक्तm शुल्क तिर्नु पर्दैन् । पर्यटक बढाउने र लामो समय बस्ने तथा अन्य खर्चको वातावरण सिर्जन गर्न पनि यस्तो सेवा निकै प्रभावकारी हुने दाबी महानगरपालिकाको छ ।
महानगरपालिकाले तत्काका हनुमान ढोका क्षेत्र, पशुपति, स्वयम्भू, नारायणहीटी, बालाजु पार्कमा, थानकोट पार्कसहितका पर्यटकीय गन्तव्य तथा पुरातात्विक सम्पदामा इन्टरनेट सेवा दिइने भएको छ ।
महानरपालिकाले एक वर्षअघि रत्नपार्कमा इन्टरनेट राखेपछि पर्यटकको संख्यामा तुलनात्मक रुपले बढेको र अम्दानी समेत वृद्धि भएको उल्लेख छ । रत्नपार्कमा इन्टरनेट राख्नु अगाडि यसको आम्दानी ५० लाख हुने गरेको थियो । इन्टरनेट सुविधापश्चात हाल यसको वार्षिक आम्दानी एक करोड हुन थालिसकेको पनि उल्लेख छ ।
महानगरपालिासँग सहकार्य गरे इन्टरनेट दिने विषयमा प्रारम्भिक चरणमा छलफल भएको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । उनका अनुसार एक चरणमा छलफल भएको हो । छलफलमा आएको मात्रै हो ठोस निष्कर्षमा पुगिसकिएको छैन, उनले भने । यस विषयमा कुनै पनि आधिकारिक निर्णय भने भइनसकेको जानकारी पनि अधिकारीले दिए ।