काठमाडौं । ‘निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्याङ्कनको अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।’, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका मध्यावधि समिक्षाबाट लिएको निती यो हो । निजी प्रयोजनका सवारी साधनमा अत्याधिक कर्जा गएर बजारमा लगानी योग्य पुँजीको अभाव भएको निष्कर्षसहित केन्द्रिय बैंकले कडाईको निती लिएको थियो । सवारी साधनको कर्जामा लगाम लगाए पनि व्यापार घट्ने भन्दै अटो मोबाइल व्यवसायीले व्यापक असन्तुष्ठि जनाएका थिए ।

तर केन्द्रिय बैंकको कर्जा घटाउने योजनाले सवारी साधनको आयातमा भने कुनै प्रभाव परेको देखिएन् । उल्टै सवारी साधनको आयात ४७ दशमलब ४ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षको ११ महिनामा ७४ अर्ब ६२ करोड ८४ लाख ५० हजार मुल्यका सवारी साधन र त्यसका पार्टपुर्जा आयात भएका छन् । जबकी गत आवको ११ महिनामा जम्मा ५० अर्ब ६३ करोड २९ लाख ६१ हजार मुल्यको मात्रै सवारी सधान तथा त्यसका पार्टपुर्जा आयात भएका थिए । केन्द्रिय बैंकले कर्जा प्रवाहमा व्यापक कडाई गरेको भएपनि अटोमोबाइलको आयात भने १८ अर्ब भन्दा बढिले वृद्धि नै भएको छ ।
केन्द्रिय बैंकको कडा नितीका बावजुद किन बढ्यो सवारी साधनको आयात ? नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा भन्छन–‘केन्द्रिय बैंकले अटो लोनको सिमा घटाएपछि बजार ह्वात्तै घटेको छ तर अहिले आयात गरिएका समान केन्द्रिय बैंकले पोलिसी ल्याउनु भन्दा अघि नै बुक गरिएका थिए ।’ महासंघको बरिष्ठ उपाध्यक्ष गोल्छाका अनुसार अटो लोनलाई ५० प्रतिशतमा झार्ने केन्द्रिय बैंकको निती पछि अटोमोबाइल क्षेत्रको बजार ५० प्रतिशतले घटेको छ ।
उनले मोटरसाईकलको बजार समेत ३० प्रतिशतले घटेको बताए । ‘राष्ट्र बैंकको नीतिका कारण अटोमोबाइल क्षेत्रको बजार साह्रै खस्किएको छ तर अहिले आयात भएका सवारी साधन भने नयाँ निती आउनु भन्दा पहिले नै अर्ड गरिएका थिए, अहिले व्यवसायीले नयाँ गाडी अर्डर गर्नेक्रम घटेको छ’, गोल्छाले भने ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले पनि अटोलोनमा ५० प्रतिशतको सिमा तोक्नु अघि नै अर्डर गरिएको सवारी सधान नेपाल भित्रिएको बताए । ‘अटो लोनमा ५० प्रतिशत सिमा तोक्नु अघि अटोमोबाइलको बजार उत्साहित थियो, त्यतिबेला अर्डर गरिएको सवारी साधन नै अहिले भित्रिएका हुन, जसले आयात ठुलो आकारमा बढेको देखायो’, केन्द्रिय बैंकका सहयाक प्रवक्ता पण्डितले भने ।