काठमाडौं । नेपाल आउने विदेशी पर्यटकको आगमन दर पछिल्लो समय वार्षिक रूपमा बढेको देखिएपनि यी पर्यटकमार्फत हुने दैनिक खर्च भने घटेको छ । विगत १० वर्षमा नेपाल आउने पर्यटक भूकम्प र नाकाबन्दीले पछिल्लो तीन वर्ष घटेपनि अन्य वर्षमा भने सकारात्मक बृद्धि नै देखिएको छ । तर, यी पर्यटकमार्फत हुने दैनिक खर्च भने पर्यटकको बसाई अबधि लम्बाउन नसकेका कारण त्यति उत्साहजनक हुन सकेको छैन ।
सन् २००७ मा १२ दिन बस्ने पर्यटकले गर्ने दैनिक ४५ डलरको खर्च अहिले पनि जम्मा ५३ डलर दैनिकमै सिमित भएको छ । पर्यटको बसाई भने जम्मा १३ दिन मात्रै रहेको छ । नेपाल आएका विदेशी पर्यटकले औषतमा १३ दिन बस्ने दैनिक ५३ डलर औषत खर्च गर्ने गरेको तथ्यांक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको यस्तो तथ्यांक अनुसार गत वर्ष सन् २०१६ मा पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा ०.३२ प्रतिशतले घटेको थियो । ५ लाख ३८ हजार पर्यटक आउँदा दैनिक ७० डलर खर्च भएकोमा हाल पर्यटकको संख्या बढेर साढे सात लाख अर्थात ४० प्रतिशतले बढ्यो । तर, यी पर्यटकले गर्ने दैनिक खर्च भने ५३ डलर मात्रै रहेको छ ।
पर्यटक बढेपछि विदेशी मुद्रा सटही दरका आधारमा आम्दानी बढेको देखिएपनि दैनिक खर्च भने अघिल्लो वर्ष सन् २०१५ को तुलनामा दैनिक खर्च नै १७ डलरले घटेको छ । नेपाल आउने विदेशी पर्यटकको वार्षिक बृद्धिदर बढ्दै गएको भएपनि पर्यटकले गर्ने दैनिक खर्च भने घट्दै गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्क अनुसार नेपाल आउने पर्यटक सन् २००७ को तुलनामा सन् २००८ मा ५ प्रतिशतले घटेको थियो । सन् २००९ देखि लगातार यस्तो बृद्धिदर बढेको भएपनि पर्यटकले गर्ने खर्च मार्फत हुने दैनिक आम्दानी भने ओरालो लागेको छ ।
सन् २००८ मा प्रति पर्यटक ७३ अमेरिकी डलर दैनिक आम्दानी भएको थियो । यसपछिका वर्षहरूमा यस्तो आम्दानी घट्दै गएर सन् २०१२ मा यो तथ्याङ्क ३५ दशमलव ६ डलरमा सीमित भएको छ ।
सन् २००९ देखि १२ सम्म नेपाल आउने पर्यटक क्रमशः २, १८, २२ र ९ प्रतिशतले बढेको छ । सो अवधिमा प्रति पर्यटक दैनिक आम्दानी भने ७३ डलरबाट ६५, ४३, ३८ हुँदै सन् २०१२ मा ३५ डलरमा सीमित भएको छ ।
सन् २०१३ मा देखि २०१५ सम्म भूकम्प, नाकाबन्दीको प्रभाव तीन वर्षसम्म परेको देखिन्छ । यो समयमा पर्यटक आगमन निराशाजनक रुपले घटेको छ । तर यो समयको पर्यटकल गर्ने दैनिक खर्च भने सन्तोषजनक रुपमै बढेको देखिन्छ । पर्यटक घट्दा उसले गर्ने खर्च भने दैनिक ७० डलरसम्म पुगेको छ ।
पर्यटक आगमन तथा दैनिक आम्दानी
वर्ष पर्यटक बृद्धिदर दैनिक खर्च (डलरमा)
२००७ ३७.५ ४५
२००८ –५ ७३
२००९ १.९ ६५.३
२०१० १८.२१ ४३.२
२०११ २२.१० ३८.२
२०१२ ९.८ ३५.६
२०१३ –०.७ ४२.८
२०१४ –०.९ ४८
२०१५ –०.३२ ७०
२०१६ ४० ५३
स्रोतःपर्यटन मन्त्रालय, टुरिजम स्याटिक्स २०१६
पर्यटकलाई व्यवसायीले सस्तो प्याकेज बेचिनुले आम्दानी घटेको साेसाइटी अफ अफ टुर एण्ड ट्राभल एजेण्ट् (साेट्टाे) नेपालका पूर्व अध्यक्ष यमबहादुर खड्काको भनाइ छ । उनका अनुसार करको दायरमा भएका भन्दा नभएका पर्यटन व्यवसायीले ठूलो मात्रामा व्यापार गर्न थालेकोले पर्यटकीय आम्दानी घट्दै गएको हो ।
पर्यटन व्यवसायीमा इन्टरनेटको पहुँच बढ्दै जादाँ सस्तो प्याकेज बेच्ने बजार मूल्यलाई घटाउने कम बढ्नु पनि पर्यटन क्षेत्रबाट हुने आम्दानी कम भएको उनको बुझाइ छ । सरकारी मातहतमा आम्दानी बढाउने माध्यम करको दायरा ठूलो हुने भएपनि अनधिकृत रूपमा व्यापार गर्ने कामलाई नियन्त्रणमा लिन नसक्नुले पनि पर्यटन क्षेत्रको आम्दानी खुुम्चिएको पर्यटन व्यवसायीको तर्क छ ।
नेपाल आउने पर्यटकले गर्ने खर्चको सीमा नतोकिनु, पर्यटकको खर्च तथा वसाइँ बढाउने प्रडक्ट नहुनुले पनि प्रतिव्यक्ति पर्यटक खर्च घटेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालको भनाइ छ । उनका अनुसार पर्यटन व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेको र करको दायराभन्दा बाहिर पर्यटकीय प्याकेज विक्री हुनुले पनि आम्दानी घटेको हो ।
नेपाल आउने पर्यटकले गर्ने दैनिक खर्चको सीमा तोक्ने, छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण सिर्जनका साथमा पर्यटनको पुराना ऐन नियम सशोधन गर्ने हो भने पर्यटन क्षेत्रकै आम्दानी बढाउन सकिन्छ ।
पर्यटक बढेको देखिए पनि कुल ग्राहस्र्थ उत्पादनमा पर्यटनको योगदान भने झिनो अंक मात्रै रहेको छ । जम्मा १ दशमलव ९ प्रतिशतको योगदान रहेको तथ्यांकले देखाएको छ । यस्तो योगदान अघिल्लो वर्ष साढे दुई प्रतिशत रहेको पनि उल्लेख छ ।