
गोरखा । बाह्रसय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणबाट पानीको सतहले डुबाउने अनुमान गरिएका गोरखाका विभिन्न गाउँका प्रभावित बासिन्दालाई जग्गाको मुआब्जा वितरणका क्रममा ३१५ जना थपिएका छन् ।
मुआब्जा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार यसअघि ५८३ जनालाई मुआब्जा रकम दिइसकिएकामा ३१५ जना थपिएको हो । प्रभावितलाई राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न लगाएर सोही खातामा मुआब्जा रकम पठाउने गरिएको छ ।
प्रजिअ बस्नेतले भने,“३१५ जना प्रभावितको बैंक खातामा कुल रु ८५ करोड पठाउने समितिले निर्णय भएको छ ।” अहिलेसम्म बूढीगण्डकी प्रभावितलाई दुई अर्ब चार करोड मुआब्जा दिइसकिएको छ ।
अहिले गोरखाको साबिक घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका प्रभावितलाई मुआब्जा दिइएको हो । चालु आवमा मुआब्जाका लागि पाँच अर्ब बजेट उपलब्ध भएकामा धादिङतर्फ पनि मुआब्जा वितरणको काम भएको छ । गोरखाको आरुघाट बजार र धादिङको खहरे बजारको मुआब्जा यकिन नभएकाले त्यहाँका बासिन्दाले छिटो मुआब्जा निर्धारण र वितरण गर्न माग गर्दै आएका छन् ।
बूढीगण्डकी डुबान क्षेत्रमा पर्ने गोरखातर्फका बासिन्दाले अनुदान रकम पाए पनि कस्तो घर बनाउने भन्नेबारे आफूहरू अन्योलमा रहेको पनि बताएका छन् । छिट्टै डुबान पर्ने भए टहरामै बस्ने उनीहरूको भनाइ छ । रासस