नेपाल टेलिकम र म्युजिक नेपालबीच सहकार्य, मोबाइल एप्पमार्फत म्युजिक स्ट्रिमिङ सेवा सञ्चालन

<p>काठमाडौं । नेपाल टेलिकम र म्युजिक नेपाल प्रा.लि.को सहकार्यमा मोबाइल एप्प मार्फत म्युजिक स्ट्रिमिङ सेवाको औपचारिक रुपमा आइतबार शुभारम्भ गरिएको छ । नेपाली संगीत क्षेत्रका गायक, संगीतकार, रचनाकार तथा उत्पादकहरुको उपस्थितिमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्यायले सो सेवाको शुरु गरेका हुन् । उपाध्यायले मोबाइल एप्पमार्फत स्ट्रिमिङ सेवाको शुरु गर्दै मोबाइल प्रयोगकर्ताका बीचमा यो [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकम र म्युजिक नेपाल प्रा.लि.को सहकार्यमा मोबाइल एप्प मार्फत म्युजिक स्ट्रिमिङ सेवाको औपचारिक रुपमा आइतबार शुभारम्भ गरिएको छ । नेपाली संगीत क्षेत्रका गायक, संगीतकार, रचनाकार तथा उत्पादकहरुको उपस्थितिमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्यायले सो सेवाको शुरु गरेका हुन् ।

उपाध्यायले मोबाइल एप्पमार्फत स्ट्रिमिङ सेवाको शुरु गर्दै मोबाइल प्रयोगकर्ताका बीचमा यो एप्प लोकप्रिय हुने विश्वास ब्यक्त गर्दै आगामी दिनमा यसलाई थप सुविधासहित परिमार्जित गरिने बताए ।

म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्माले टेलिकमका करिब १ करोड ५० लाख उपभोक्तामार्फत देशभर नेपाली संगीत उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् । साथै, उनले यो सहकार्यबाट संगीत क्षेत्रको आधिकारिक एप्पको रुपमा म्युजिक नेपाल एप्पले विश्वास जित्ने आशा उनले व्यक्त गरेका छन् ।

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले म्युजिक नेपाल एप्पमार्फत संगीत प्रेमी र कलाकारलाई नेपाली संगीत प्रवद्र्धनका लागि थप प्रोत्साहित गर्न भूमिका खेल्नुका साथै नेपाल टेलिकमको व्यवसाय विस्तारमा समेत सघाउ पुग्ने बताएकी छन् ।  म्युजिक स्ट्रिमिङ सेवाबाट ग्राहकले एउटै प्लेटफर्ममार्फत असीमित संगीतको आनन्द लिन सक्नेछन् । ‘म्युजिक नेपाल’ मोबाइल एप्प डाउनलोड गरी सो मार्फत कुनै पनि विधामा अहिलेका लोकप्रिय गीतहरु मात्र नभई पुराना सदावहार नेपाली गीतहरु पनि चौविसै घण्टा सुन्न सकिने छ । त्यति मात्र नभई आफ्नो रुची अनुसारका गीतहरु छान्न, सूची बनाउन र संग्रहित गर्न पनि सकिने छ । आफूले रुचाएका गीतहरु फेसबुकमार्फत साथीभाईहरुसँग सेयर गर्न पनि सकिने छ ।

यो सेवा नेपाल टेलिकमका ग्राहकलाई मात्र उपलब्ध हुनेछ भने हाललाई पहिलो एक महिनाको लागि उपभोक्ता शुल्क नलिई  उपलब्ध गराइने छ । एक महिना पछि भने ग्राहकले शुल्क तिरेर साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । डाउनलोड गरेको एप्प खोलेर आफ्नो मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी यसको प्रयोग गर्न सकिने छ ।

कम्पनीका अनुसार मोबाइल डाटा प्रयोग गरी गीत डाउनलोड गर्दा डाटा शुल्क भने लाग्नेछ । साथै वाइफाई प्रयोग गरेर पनि कम्पनीका ग्राहकले संगीतको आनन्द लिन सक्नेछन् ।

हाललाई यो सेवा एन्ड्रोइड मोबाइलमा उपलब्ध हुनेछ भने छिट्टै आइओएसमा समेत उपलब्ध गराइने छ । यो सेवा मार्फत हाललाई नेपाली आधुनिक तथा सदावहार गीत संगीतहरु मात्र उपलब्ध भए पनि निकट भविष्यमा विदेशी गीत संगीतहरु समेत  उपलब्ध हुनेछन् । आगामी मंगलबार (२०७४ साउन ३ गते) देखि यो ‘म्युजिक नेपाल एप्प’ आम उपभोक्ताले प्रयोग गर्न सक्ने टेलिकमले बताएको छ ।

Share News