बिम्स्टेक मन्त्रीस्तरीय बैठक आगामी बिहीबार, तयारी अन्तिम चरणमा

<p>काठमाडाै । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक)को १५औँ मन्त्रीस्तरीय बैठक यही साउन २६ र २७ गते काठमाडौँमा हुने भएको छ । बैठकको तयारी अन्तिम चरणमा पुगेको र सबै सदस्य मुलुकका विदेश मन्त्रीले त्यसमा भाग लिने सुनिश्चित गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । बिम्स्टेकको अध्यक्ष मुलुक नेपालले पहिलोपटक उक्त बैठक आयोजना [&hellip;]</p>

काठमाडाै । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक)को १५औँ मन्त्रीस्तरीय बैठक यही साउन २६ र २७ गते काठमाडौँमा हुने भएको छ ।

बैठकको तयारी अन्तिम चरणमा पुगेको र सबै सदस्य मुलुकका विदेश मन्त्रीले त्यसमा भाग लिने सुनिश्चित गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । बिम्स्टेकको अध्यक्ष मुलुक नेपालले पहिलोपटक उक्त बैठक आयोजना गर्न लागेको हो ।

भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको चौथो शिखर सम्मेलन काठमाडाैमा आयोजना गर्ने निर्णय मन्त्रीस्तरीय बैठकले गर्ने सम्भावना छ ।

बैठकमा भाग लिन भारतका विदेशमन्त्री सुष्मा स्वराज, श्रीलंकाका विदेशमन्त्री रवि करुणनायके, बंगलादेशका विदेशमन्त्री अबुल हसन महमुदअली र भूटानका विदेशमन्त्री दाम्चो दोर्जी आगामी बिहीबार काठमाडौँ आइपुग्ने कार्यक्रम छ । थाइल्याण्ड र म्यान्माबाट भने उपविदेश मन्त्रीस्तरीय बैठकमा सहभागिता हुनेछ ।

सोही दिन सदस्य मुलुकका बाह्य मामिला÷विदेश÷परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको १८औँ बैठक (एसओएम) हुनेछ । परराष्ट्र सचिव शंकरदास वैरागीले उक्त बैठकको नेतृत्व गर्नुहुनेछ ।

मन्त्रीस्तरीय बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका प्रमुख मणिप्रसाद भट्टराईले जानकारी िदए। रासस

Share News