नेपालगन्ज । मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।
जिल्लाका बाढी तथा पहिरो पीडित घरपरिवारका सदस्यलाई सरकारको तर्पmबाट जिल्ला दैवी प्रकोप उद्धार समितिमार्पmत नगद, चामल, दाल, नून, तेल, लत्ताकपडा, त्रिपाल लगायतका सामग्री उपलब्ध गराइएको छ ।
यसका साथै घर भत्केका परिवारका सदस्यलाई सुरक्षित स्थानमा शिविर खडागरी बसोबास समेत मिलाइएको र सो स्थानमा महिलामाथि हुनसक्ने सम्भावित दुर्घटनालाई दृष्टिगत गरी सुरक्षाकर्मीसमेत परिचालन गरिएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाका दैवी प्रकोप उद्धार समितिअन्तर्गत गठन गरिएका शिक्षा, स्वास्थ्य तथा सरसफाइ, पुनर्वास, राहत वितरण लगायतका कलस्टर समूहलाई पनि बाढी प्रभावित गाउँमा खटाइएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए।
यसका यस क्षेत्रमा क्रियाशील सामाजिक तथा पेशागत संघ, संगठनले पनि बाढीपीडितका लागि संकलन गरेको सहयोग जिल्ला दैवी प्रकोप उद्धार समितिलाई उपलब्ध गराउँदै आएको पाइन्छ । केही सामाजिक संस्था भने आफैँ बाढी प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरिरहेका छन् ।