काठमाडौं । पछिल्लो समयमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कारोबार वृद्धिसंगै सेयर मूल्य पनि निरन्तर उकालो लागेको छ ।

गत कात्तिक १५ गते प्रतिकित्ता ७६६ रुपैयाँ रहेको चिलिमेको सेयर झण्डै एक महिना अन्तरालमा बढेर लगानीकर्ताले प्रतिसेयर १९४ रुपैयाँ कमाएका छन् । मंगलबार मात्र चिलिमेको सेयर २१ रुपैयाँले बढेर बढ्दा ४ करोड २३ लाख ३३ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
चिलिमेले हकप्रद सेयर ल्याउने हल्ला चलेपछि पछिल्लो समयमा कारोबार बढेको कालिका सेक्युरिटिजका प्रवन्ध निर्देशक नरेन्द्र सिजापति बताउँछन् । “केही सातायता चिलिमेले हकप्रद सेयर निष्कासन गर्ने हल्ला चलेपछि सेयरको मूल्यका साथै सबैभन्दा बढी कारोबार हुन थालेको छ” उनले भने “ अहिलेको अवस्थमा चिलिमेले हकप्रद ल्याउने संभावना म देख्दिन् ।”
म्युचल फण्डले चिलिमेको सेयर किनेकाले पनि बजार बढेको हुन सक्ने उनको अनुमान छ । चिलिमेबाट प्राप्त हुने प्रतिफल निश्चित र आकर्षक भएकाले म्युचल फण्डको लगानी यता भएको उनको भनाई छ ।
चिलिमेका प्रवन्ध सञ्चालक दामोदरभक्त श्रेष्ठ हकप्रद सेयर निष्कासनको कुनै योजना नरहेको बताउछन् । विकास न्युजसंग कुरा गर्दै उनले भने “तत्काल लगानी गर्न नयाँ आयोजना तयार नभएकाले हकप्रद सेयर निष्कासन गरेर पुँजी संकलन गर्ने योजना छैन ।”
चिलिमेले हालै दुई वटा आयोजनाको सर्वेक्षण अनुमति पत्र(लाइसेन्स) लिएको छ । तर ती आयोजनाको अध्ययन गरेर निर्माणको चरणमा पुग्न केही समय लाग्ने भएकाले तत्काल हकप्रद सेयर जारी गर्ने सोँच नबनेको उनको भनाई छ ।
चिलिमेले आउँदो ५ वर्षपछि वार्षिक १ अर्ब रुपैयाँ बढी लाभाँश सहायक कम्पनीबाट पाउने उनले बताए । आगामी वर्षदेखि कम्पनीको संचित कोषमा रहेको साढे ५ अर्ब रुपैयाँ सेयरधनीलाई वितरण गर्ने उनले सुनाए । चिलिमेले आगामी वर्षदेखि वार्षिक २० प्रतिशत आयकर (कर्पोरेट ट्याक्स) तिर्नुपर्ने भएपछि नाफामा भने कमी आउने छ ।