कुमारी बैंकको विशेष साधारणसभामा चुनाव पक्का, एनसीसी बैंकसँग मर्ज नहुने सम्भावना बढ्यो

  २०७३ असार २९ गते १५:४३     विकासन्युज

काठमाडौं, २९ असार । असार ३१ गते हुन लागेको कुमारी बैंकको विशेष साधारणसभामा मर्जको पक्ष र विपक्षमा मतदान हुने पक्का भएको छ । मर्जको विपक्षमा रहेका लगानीकर्ता जुट्दै गएका छन् भने मर्जको पक्षका प्रोक्सी (प्रतिनिधिपत्र) संकलन गर्नेहरु निराश भएका छन् ।

कुमारी बैंक, एनसीसी बैंक, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंकबीच मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा कुमारी बैंक मर्जर प्रक्रियाबाट बाहिरिने सम्भावना बढेर गएको जानकारहरुले बताएका छन् ।
kumari_bank_bord
कुमारी बाहेक अन्य पाँच वटा बैंकहरुले विशेष साधारणसभा सम्पन्न गरेका छन् र मर्जर प्रस्तावलाई सर्बसहमतिमा अनुमोदन गरेका छन् । अन्तिममा विशेष साधारणसभा गर्न लागेको कुमारी बैंकका सेयरधनीहरु भने उक्त मर्जको पक्ष र विपक्षमा विभाजित भएका छन् ।

एनसीसीसँगको मर्जरलाई सफल बनाउने पक्षमा काम गर्दै आएका कुमारी बैंकका एक जना सञ्चालक बुधबार निकै निराश रुपमा भेटिए । त्यसको कारण हो मर्जको पक्षमा आवश्यक प्रोक्सी संकलन नहुनु ।

कम्पनी कानुन अनुसार मर्ज सम्बन्धि विशेष प्रस्ताव साधारणसभाबाट पारित गर्न दुई तिहाई मत आवश्यक हुन्छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ छ । मर्ज सम्बन्धि प्रस्ताव पारित गर्न कम्तिमा २ करोड २ लाख ४७ हजार कित्ता सेयरधनीले पक्षमा मतदान गर्नुपर्छ ।

तर हालसम्म मर्जको पक्षधरले करिव ७० लाख कित्ता सेयरधनीको प्रोक्सी संकलन गरेको छ । ‘कम्तिमा ६० प्रतिशत प्रोक्सी संकलन भएको भए मर्ज प्रस्तावको पक्षमा ७५ प्रतिशत खस्ने सम्भावना हुने थियो । तर अहिलेसम्म ३५ प्रतिशत प्रोक्सी पनि संकलन भएको छैन’–उनले भने ।

स्रोतका अनुसार बैंकको महत्वपूर्ण प्रवद्र्धक अमिरप्रताव राणा र उनको नातेदारहरुले प्रोक्सी दिन मानेका छैनन् । उक्त समूहसँग ४० देखि ४२ लाख कित्ता सेयर भएको बताईएको छ । उनीहरुले विपक्षमा मतदान गरेको अवस्थामा मर्ज विफल हुने स्रोतले बतायो ।

बैंकका सञ्चालक डा शोभाकान्त ढकाल भन्छन्–‘लगानीकर्ता अन्तिम निर्णयकर्ता हुन् । विशेष साधारणसभाले जे निर्णय गर्छ त्यसलाई सबैले मान्नैपर्छ ।’ राणा समूहले साधारणसभामा आफै उपस्थिति हुने भन्दै प्रोक्सी दिन नमानेको उनले बताए ।

कुमारी बैंकमा ४९ प्रतिशत सेयर सर्बसाधारणसँग भएकोले त्यसको ठूलो हिस्साले मर्जको विपक्षमा मत हाल्ने सम्भावना देखिएको छ । बैंकका एक लगानीकर्ताले भने–‘लगानीकर्ताले कसरी बढी कमाउन सकिन्छ भनेर हिसाव गरेका हुन्छन् । बोनस सेयर र हकप्रद सेयरको अपेक्षा गर्ने लगानीकर्ताले मर्जको विपक्षमा मत खसाल्नेछन् ।’

विपक्षीको मत

एनसीसीसँग मर्जपछि अवसरभन्दा जोखिम बढी रहेको मर्जको विपक्षमा रहेका लगानीकर्ताको भनाई छ । ‘चालु आर्थिक वर्षमा कुमारी बैंकले ८० करोड रुपैयाँ भन्दा बढी खुद नाफा गर्दैछ । खरावकर्जाको असुली राम्रो भएकोले नाफा १ अर्ब नजिक पुग्ने सम्भावना छ । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २० देखि २५ प्रतिशत बोनस सेयर दिन सकिन्छ । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट पनि बोनस सेयर दिन सकिन्छ । अपुक पुँजीको लागि हकप्रद सेयर जारी गर्न सकिन्छ’ ती लगानीकर्ता भन्छन् । उनी भन्छन्–सेयरको बजार मूल्य बढेको छ । हकप्रद सेयर जारी गर्दा सबै लगानीकर्ता खुशी हुन्छन्, लगानीकर्तालाई हरेक कोणबाट फाइदा छ ।

सेयर पुँजी ८ अर्ब रुपैयाँ पुर्याए पनि व्यापार विस्तार चुनौतिपूर्ण भएकोले मर्जमा जानु उत्तम हुने तर्क गर्दै आएका छन् । कुमारी बैंकका एकथरी प्रवद्र्धकहरु भने एनसीसीसँगको मर्ज तोडेर एभरेष्ट बैंकसँग मर्ज गर्ने पक्षमा लविङ गरिरहेको स्रोतले बतायो ।

अन्य बैंकलाई असर नपर्ने

कुमारी बैंकको साधारणसभाले मर्जको विपक्षमा निर्णय लिएमा एनसीसीसँग ४ वटा विकास बैंक भने मर्ज हुनेछन् । ‘मर्ज प्रक्रियामा सहभागि मध्ये कुनै संस्थाको साधारणसभाले विपक्षमा निर्णय गरेको अवस्थामा मर्जको पक्षमा निर्णय गर्नेहरुसँग मर्ज अगाडि बढाउने निर्णयमा सबैले हस्ताक्षर गरेका छौं । कुमारी आएन भने पनि ५ वटा बैंकबीच मर्ज हुन्छ’ मर्जर कमिटीका एक सदस्यले भने । कुमारीमा विवाद देखिएकोले मर्जर कमिटिले गत साता यस्तो निर्णय गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.