गाडी धितोमा ३० अर्ब ५० करोड कर्जा, स्थीर सम्पत्ति नै धितो खोज्छन् बैंकहरु

  २०७३ भदौ १२ गते ५:३५     विकासन्युज

काठमाडौं, १२ भदौ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले स्थीर सम्पत्तिको धितोमा मात्रै कर्जा दिने गरेका छन् । गत आर्थिक बर्षमा बैकिङ क्षेत्रले सम्पत्ति धितोमा ३ खर्ब ३१ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

hyundai_cretaनेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार गत आर्थिक बर्षसम्ममा सम्पत्ति धितोमा प्रवाह भएको कर्जा १४ खर्ब ६३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरुवाट प्रवाह भएको कूल कर्जा भने १६ खर्ब ८१ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । सम्पत्तिको धितोमा प्रवाह भएको कर्जा अघिल्लो बर्षको तुलनामा २९ दशमलब ३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो कर्जा ११ खर्ब ३२ अर्ब ४४ करोड रुपैयाँ थियो ।

यस्तो धितो कर्जामा मध्येमा जग्गा र भवन धितो राखेर २ खर्ब १० अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तै मेसिन तथा औजार धितोमा ८ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

गाडी धितोमा ३० अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तो कर्जा अघिल्लो आर्थिक बर्षको तुलनामा ३५ दशमलब ९ प्रतिशतले बढेको छ । अहिल्लो बर्ष गाडी धितोमा १९ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

चालु सम्पत्ति मध्ये कृषि जन्य बस्तुको धितोमा गत बर्ष २ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो बर्षको तुलनामा गत बर्ष यस्तो धितोमा प्रवाह हुने कर्जा १७ दशमलब ६ प्रतिशतले बढेको छ । यस्तै गैर कृषिजन्य बस्तुको धितोमा ७९ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । गैरकृषिजन्य बस्तुको धितोमा प्रवाह हुने कर्जा अघिल्लो बर्षको तुलनामा ४९ दशमलब ६ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २३ दशमलब ७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १९ दशमलब ८ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षको चौथो त्रयमासदेखि आर्थिक गतिविधि चलायमान भएका कारण निजी क्षेत्रतर्फको कर्जा विस्तार भएको हो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंक र विकास बैंकहरुको कर्जा प्रवाह क्रमशः २६ दशलमब ५ प्रतिशत र २० दशमलब ३ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह १२ दशमलब ५ प्रतिशतले घटेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट यातायात, संचार तथा सार्वजनिक सेवातर्फको कर्जा ३९ दशलमब ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त क्षेत्रतर्फको कर्जा २७ प्रतिशतले बढेको थियो । त्यसैगरी, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २५ दशमलब ८ प्रतिशत र वित्तीय, वीमा तथा स्थिर सम्पत्तितर्फको कर्जा २५ दशमलब ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष थोक तथा खुद्रा व्यापारतर्फको कर्जा २१ दशमलब ८ प्रतिशत र वित्तीय, वीमा तथा स्थिर सम्पत्तितर्फको कर्जा १८ दशमलब ३ प्रतिशतले बढेको थियो ।

अघिल्लो वर्ष कृषि क्षेत्रतर्फको कर्जा २८ प्रतिशतले बढेकोमा गत वर्षमा उक्त कर्जा २० दशलमब ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १४ दशलमब ८ प्रतिशतले बढेकोमा समीक्षा वर्षमा उक्त कर्जा १५ दशमलब ९ प्रतिशतले बढेको छ ।

गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६० दशमलब ८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १५ दशमलब २ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९ दशमलब ६ प्रतिशत र १२ दशमलब ८ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा क्षेत्रमा २ खर्ब ५० अर्ब ८७ करोड (प्रति ग्राहक रु. १ करोडभन्दा कमको रु. १४२ अर्ब ८१ करोडको आवासीय घरकर्जा समेत) रहेको छ । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १४ दशमलब ९ प्रतिशत हो । गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले सेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको २ दशमलब २ प्रतिशत (३७ अर्ब ६६ करोड रुपैयाँ) रहेको छ भने वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा  कुल कर्जा को २ दशमलब ६ प्रतिशत (३५ अर्ब ८७ करोड रुपैयाँ) छ ।

वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट कर्जा (आयात कर्जा) ३१ दशमलब ८ प्रतिशत (१७ अर्ब ५६ करोड रुपैयाँ) ले वृद्धि भई ७२ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १३ दशमलब ३ प्रतिशतले बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.