काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले कृषकहरुसँग सोझो सम्बन्ध राख्न पाउनुपर्ने प्रस्ताव गरेको छ । कृषि अनुसन्धान परिषद् ऐनलाई संशोधनको मस्याैदामा नार्कले यस्तो प्रस्ताव गरेको हो ।
कृषि क्षेत्रको अनुसन्धानबारे जनतासँग सोझो सम्बन्ध कायम गर्न नपाउँदा कृषि अनुसान्धान परिषद्को प्रभावकारिता बढ्न नसकेको निष्कर्षसहित यस्तो प्रस्ताव गरिएको नार्कका प्रवक्ता तथा प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिए । उक्त ऐन संशोधनको प्रस्ताव तयार गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
कृषि अनुसन्धान परिषद्का देशभरका विभिन्न स्थानमा ६२ ओटा अनुसन्धान केन्द्रहरु छन् । देशैभर अनुसन्धान केन्द्र भए पनि नार्कले कृषकहरुसँग बीउबीजनहरुकाे विक्रीवितरण र उत्पादन प्रक्रियाबारे सीधा जानकारी गराउँदैन । हालसम्म परिषद्ले विभिन्न खाद्यान्न, तरकारी, फलफुल, दुधजन्य तथा मासुजन्य पशुपन्छीहरुका उन्नत जातहरु भुगोल, उर्वराशक्ति आदिका आधारमा अनुसन्धान गरी त्यस्तो अनुसन्धानहरुको प्रतिवेदन कृषि विभाग, पशु सेवा विभाग लगायत सरकारी निकायहरुमा बुझाउने गर्छ, नार्कको प्रतिवेदनकै आधारमा ती संस्थाहरुले बीउबीजनहरुको आपुर्ति गर्ने काम गर्छ ।
नार्कले त्यसरी अनुसन्धान गर्ने गरे पनि सँधै अपजस जति खेप्नुपर्ने गुनासो परिषद्ले गरेको छ । ‘हाम्रा अनुसन्धानहरु वैज्ञानिक र यथार्थपरक हुन्छन्, तर कार्यान्वयनका क्रममा हुने कमजोरी वा किसानमा कृषि प्रणालीबारे राम्रो सञ्चार नहुँदा त्यसको नकारात्मक प्रभावको अपजस मात्रै हामीले पायौं, जस आए मात्रै अरुले लिने प्रवृत्ति भयो, यसैले हामीले किसानसँग प्रत्यक्ष जोडिन पाउनुपर्ने माग गरेका हौं ।’ परिषद्का एक अधिकारीले भने । जनतासँग प्रत्यक्ष जोडिने बाटो खुला भए नेपाल कृषि अनुसन्धान परिषद्को देशका सातै प्रदेशमा गरी ६२ ओटै कार्यालय तथा अनुसन्धान केन्द्रहरुबाट बीउबीजनको विक्रीवितरण र सिफारिस गरिएका जातहरुको बारेमा जनतालाई प्रत्यक्ष रुपमा जानकारी दिन सक्ने अवस्था रहेको समेत ती अधिकारीले बताए ।
प्रवक्ता पाैडेलले पनि कृषकसँगकाे कम्युनिकेशन ग्याप हटाउन यस्ताे व्यवस्था उपयुक्त रहेकाेले यस्ताे प्रस्ताव गरिएकाे बताए । ‘हाम्रो मुख्य समस्या भनेको कनेक्टिभिटी र कम्युनिकेशनको हो, हामीले अधिकार पाए दुवै पक्षमा सुधार गर्नसक्छौं, यसले कृषकहरुको उत्पादकत्व बढाउने मात्रै होइन, कतै बीउ कुहिने, कतै बीउ नपाउने अवस्था पनि अन्त्य हुन्छ’ पौडेलले भने ।
कृषि क्षेत्रमा बीउबीजनको योगदान उच्च हुने भन्दै उनले एउटै माटो, एउटै मल र एउटै सिँचाईको अवस्थामा उन्नत जातको बीउकै कारण मात्र २० प्रतिशत उत्पादकत्व बढ्ने अनुसन्धानले देखाएको नेपाल कृषि अनुसन्धान परिषद्ले जनाएको छ ।