
काठमाडौं । शनिबारको एटीएम ह्याकिङमा बैंकहरुलाई करिब ३२ लाख रुपैंया मात्रै क्षति भएको पाइएको छ । नेपाल राष्ट्र बैंकको प्रारम्भिक रिपोर्टमा एटीएम ह्याक गरेर १ करोड ६८ लाख रुपैंया निकालिएकोमा १ करोड ३६ लाख रुपैंया चिनियाँ नागरिकहरुबाट बरामद गरिएको भन्दै बाँकी ३२ लाख रुपैंया मात्रै क्षति भएको निष्कर्ष निस्किएको हो । सो रकम समेत कुनैपनि ग्राहकको खातामा डेबिट नभएको भन्दै त्यस्तो क्षति ग्राहकहरुलाई नपर्ने विश्वास बैंकर्स संघ र राष्ट्र बैंकले बैंकहरुलाई दिलाएको छ ।
नेपाल प्रहरीले नक्कली एटीएम प्रयोग गरी पैसा निकाल्ने कार्यमा संलग्न चिनियाँहरुलाई पक्राउ गरी सार्वजनिक गर्न नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघका प्रतिनिधिहरुसमेत उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनामा १४९ ओटा एटीएम प्रयोग भएकोमा १३२ ओटा एटीएम कार्ड नक्कली भएको र १७ ओटा एटीएम कार्ड उनीहरुको आफ्नै रहेको समेत महानगरीय प्रहरी परिसरका प्रवक्त उत्तमराज सुवेदीले जानकारी दिए । त्यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले प्रहरीको सक्रियताको कारण बैंकहरु ठूलो क्षतिबाट बच्न सफल भएको भन्दै प्रशरीको प्रयासको प्रशंसा समेत गरे । उनीहरुले पश्हरीको सक्रियतामा केही घण्टा ढिला भएको भए पनि बैंकहरुले ठूलो क्षति ब्यहोर्नुपर्ने तर्क गरे ।
कसरी भयो ह्याक ?
कुनै बैंकले अर्को बैंकको एटीएम प्रयोग गरी पैसा निकाल्दा अर्को बैंकको खातामा भएको रकमको सूचना भिसा नेटवर्कमार्फत् हुन्छ, त्यो नेटवर्कले रकम सूचना प्रमाणित गरेपछि त्यो सूचना स्वीचमा जान्छ, स्वीचले सम्बन्धित बैंक आवश्यक रकम डेबिट गर्न पठाउँछ । तर यहाँ भिसाले सूचना प्रमाणित गरेपछि स्वीचमा पुग्नुअघि भएको प्रारम्भिक निष्कर्ष निष्किएको छ । त्यो कार्यका कसको संलग्नता थियो र भिसाले त्यो सूचना कसरी एप्रुभ गर्यो भन्ने चाहिँ फरेन्सिक अनुसान्धानपछि मात्रै थाहा हुने बताइएको छ । प्रारम्भिक रिपोर्टमा भिसाको नेटवर्क र नेप्स स्वीचको प्रयोग भएको पाइएको छ ।

प्रविधिमा यत्रो रिस्क छ, स्प्रेड घटाऊ मात्रै नभन्नुस्
कार्यक्रममा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकिङ प्रणालीमा यति ठूलो जोखिम रहेको भन्दै बैंकहरुको नाफा मात्रै नहेरी जोखिमलाई हेर्न भन्दै राष्ट्र बैंकले स्प्रेडदर घटाउन दिएको दबावप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘तपाईहरुले देखिहाल्नुभयो बैंकिङ क्षेत्रमा कति ठूलो रिस्क छ भनेर, यहाँ राष्ट्र बैंकका कार्यकारी निर्देशक पनि हुनुहुन्छ, बैंकहरुलाई स्प्रेडदर घटाउ भनेर दवाव मात्रै दिनुभएन’ उनले भने ।