काठमाडाैं । जनकपुरका ३३ वर्षिय रन्जित साहले मंगलबार सोलुखुम्बुको ६ हजार ८ सय १२ मिटर उचाईको आमादब्लम हिमालमा सफल आरोहण गरेका छन् । तराई, पहाड,हिमाल, हाम्रो मातृभूमि नेपाल भन्ने मूल नाराका साथ भ्रमण वर्ष २०२० लाई सफल बनाउन उनले मंगलबार बिहान ७ बजे हिमालकाे आरोहण गरेकाे जनाइएकाे छ ।
पिक प्रमोशन प्रालिको आरोहण टोलीमा सामेल भई उनले सफलता पूर्वक आमादब्लम आरोहण गरेका हुन् ।सगरमाथा आरोहणको पूर्व तयारीको रुपमा हिमाल आरोहण गरेको रंजीतले बताए । आमादब्लमको दोश्रो शिविरबाट सोमबार साँझ ८ बजे शिखरका लागि उनको टोली अघि बढेको थियो । जनकपुरधाम नयाँ बस पार्कमा पानपसल सन्चालन गर्दै आएका रन्जित एक साइकलयात्री पनि हुन् ।
उनी एक महिना अघि मात्रै हिरो साईकल काँधमा बोकेर सगरमाथा आधारशिविर पुगेका थिए । आगामी आरोहण मौसममा साईकल बोकेरै सगरमाथा आरोहण गर्ने उनको लक्ष्य छ ।
