आज ‘मार्च ३१’ खोई रेल आएको ?

<p>आज मार्च ३१ अर्थात चैत १८ गते । रेल विभागले जसरी पनि भारतमा निर्माण भएको रेल नेपाल ल्याइसक्ने भनेको ‘डेट लाइन’ । यो भन्दा अगाडि रेल विभागले भारतमा बनिरहेको रेल नेपाल ल्याउने धेरै भाकाहरु राख्यो । तर, कुनै बेला केही र कूनै बेला केही प्राविधिक समस्या देखाएर पन्छिदैँ आएको थियो । यो भन्दा अगाडि अर्थात [&hellip;]</p>

आज मार्च ३१ अर्थात चैत १८ गते । रेल विभागले जसरी पनि भारतमा निर्माण भएको रेल नेपाल ल्याइसक्ने भनेको ‘डेट लाइन’ । यो भन्दा अगाडि रेल विभागले भारतमा बनिरहेको रेल नेपाल ल्याउने धेरै भाकाहरु राख्यो । तर, कुनै बेला केही र कूनै बेला केही प्राविधिक समस्या देखाएर पन्छिदैँ आएको थियो ।

यो भन्दा अगाडि अर्थात पछिल्लो भाका फागुनको पहिलो साता थियो । त्यतिखेर, तपाइँले विभिन्न समयमा भाकाहरु राख्नु भयो, अहिले सम्म नेपाल रेल किन आइपुगेन भन्ने विकासन्यूजको प्रश्नमा विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘विभिन्न समयमा गरेका भाका तपाईहरुलाई नै थाहा होला, हामीलाई थाहा छैन, हामीले यसको डेटलाइन मार्च ३१ राखेका छौं, हामी जसरी पनि रेल त्यति सम्म ल्याएरै छोड्छौं,’

महानिर्देशक मिश्रको त्यो बोलीको साहस पुनः तुहिएको छ । अहिले विभागले विश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९)को कारण देखाउँदै पुनः पन्छिएको छ । नेपालमा आउने भनिएका दुई रेल भारतमा निर्माण भइसकेकाे विभागले बताएको छ । विश्वभर कोरोना भाइरस ( कोभिड–१९)को कारण धेरै कामहरु अलपत्र परेका छन् । र अलपत्र परेको छ रेल ल्याउने सपना पनि ।

हालसम्म नेपालमा रेल ल्याउनका लागि भौतिक संरचनाहरु तयार नभइसकेको बताउँदै आएपनि अब भने कारण देखाउन कोरोना भाइरस भएको छ । भारतको जयनगरदेखि धनुषाको जनकपुर हुँदै कुर्थासम्म ३५ किलोमिटर दूरीमा सञ्चालन हुने भनिएको रेल सेवा सञ्चालन गर्न तोकेकोभन्दा धेरै ढिलो भइसकेको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले अब चैत १८ अर्थात मार्च ३१ मा रेल नेपाल आइपुग्ने बताएका थिए । उनले आजसम्म नेपालमा भौतिक संरचना निर्माण भइनसकेकोले ल्याउन ढिलाई भएको बताउँदै आएका थिए । बरु उनी यस अघि पटक–पटक रेल ल्याउने समय नतोकेको जिकिर गर्छन् ।

‘यसअघि हामीले संरचनाहरु निर्माण गरिसकेको थिएनौं, भत्केका रेलका लिकहरु निर्माण गरिरहेका थियौं, हामीले अहिले त्यो पनि निर्माण गरिसकेका छौं,’ उनले भने । अब भने कारण काेराेना भाइरस बनेकाे छ ।

उनले एउटा एसी, २ वटा जनरल बोगी र एउटा इन्जिनको आधा भागको बोगी गरेर ५ वटा बोगी सहितको रेल भारतमा बनेर तयारी अवस्थामा रहेको बताए । ‘भारतमा बनिसकेको रेल ल्याएर नेपालमा थन्क्याउने कूरा भएन, हामीसँग रेल चलाउने जनशक्ति पनि छैन, न कुनै कार्यविधि छ, त्यसकारण पनि ढिलाई भएको हो, रेल निर्माणमा कुनै समस्या छैन, भारतमा रेल निर्माण भइसकेको छ,’ मिश्रले भने ।

विभागका इञ्जिनियर नवराज भट्टले भारत र नेपाल दुवै देशमा लक डाउन घोषणा गरेको कारण रेल ल्याउन नसकिएको बताए । तर, यो भन्दा अगाडि जुनसुकै हालतमा पनि मार्च ३१ भित्र नेपालमा रेल ल्याएरै छोड्नै मिश्रको बोली पुनः असफल भएकाे छ ।

सम्बन्धित समाचार ः

अझैँ आइपुगेन रेल, अबकाे भाका चैत १८

Share News