हिमाल आरोहणको अनुमति दिएर सरकारले साढे ७१ करोड रुपैयाँ कमायो, चार हिमालको सफल आरोहण

<p>काठमाडौं । सरकारले आरोहण अनुमतिपत्रको रोयल्टीबापत साढे ७१ करोड रुपैयाँ कमाएको छ । यस वर्षको हिमाल आरोहण सुरु भएसँगै सरकारले पर्यटकहरुबाट ७१ करोड ४८ लाख ५३ हजार ५ सय २९ रुपैयाँ संकलन गरेको हो । हिमाल आरोहणका लागि विभागले सगरमाथा सहित विभिन्न १६ वटा हिमाल आरोहण गर्न ८५ समूहका ७ सय ४२ आरोहीले आरोहणको अनुमति दिइसकेको [&hellip;]</p>

काठमाडौं । सरकारले आरोहण अनुमतिपत्रको रोयल्टीबापत साढे ७१ करोड रुपैयाँ कमाएको छ । यस वर्षको हिमाल आरोहण सुरु भएसँगै सरकारले पर्यटकहरुबाट ७१ करोड ४८ लाख ५३ हजार ५ सय २९ रुपैयाँ संकलन गरेको हो ।

हिमाल आरोहणका लागि विभागले सगरमाथा सहित विभिन्न १६ वटा हिमाल आरोहण गर्न ८५ समूहका ७ सय ४२ आरोहीले आरोहणको अनुमति दिइसकेको छ ।  ती आरोहीबाट नै सरकारले साे रकम संकलन गरेकाे हाे ।

पर्यटन विभागले यस सिजनको हिमाल आरोहण अन्तर्गत सगरमाथा आरोहणका लागि ४४ समूहका ४०८ जना आरोहीलाई आरोहण अनुमति दिएको छ । जसमा ३ सय १५ पुरुष र ९२ जना महिला रहेका छन् ।

कोरोना महामारीकोबीच यस वर्षको हिमाल आरोहण सुरु भएको छ । काठमाडौं उपत्यका सहित देशका अधिकाशं जिल्लामा निषेधाज्ञाकै बीच यस वर्षको हिमाल आरोहण अन्तर्गत मंगलबार बिहानसम्म चार हिमालको सफल आरोहण भएको छ ।

पर्यटन विभागको तथ्यांक अनुसार सगरमाथा, ल्होत्से, धौलागीरि र पुमरी हिमालको सफल आरोहण भएको हो । यस वर्षको पहिलो हिमाल आरोहण अन्तर्गत गत बैशाख ३ गते ८ हजार १६७ मिटर उचाईमा रहेको धौलागिरि हिमालको सफल आरोहण भएपछि पछिल्लो समय विभिन्न हिमालको आरोहण भइरहेको छ ।

बहराइनको टोली सगरमाथामा

यस सिजनको हिमाल आरोहण अन्तर्गत बैशाख २४ गते रोप फिक्सिङ सम्पन्न भएको सगरमाथाको आरोहण सुरु भएको छ । कीर्तिमानी आरोही कामीरिता शेर्पा नेतृत्वको १२ शेर्पा आरोही टोलीले आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरोमा पुगेपछि व्यावसायिक आरोहण सुरु भएको हो ।

यस वर्षको सगरमाथा आरोहण बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ ।

बहराइनको राजपरिवारका सदस्यसहितको टोलीले मंगलबार बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ ।
बहराइनका अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणमा गएको थियो । उक्त आरोहण टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती छन् ।

ल्होत्सेमा रोप फिक्सिङ

सोलुखुम्बुको खुम्बुस्थित सगरमाथा क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) हिमाल आरोहण शुरु भएको छ । आरोहणको बाटो बनाउन डोरी टँगाइ (रोप फिक्सिङ) का लागि गएका ६ सदस्य आरोहीले सोमबार साँझ ६ः४५ मा ल्होत्से चुचुरामा पुगेसगैँ आरोहण सुरु भएको हो ।

रोप फिक्सिङ टोलीमा संखुवासभा मकालु १ का तेन्जिङ शेर्पा, मकालु २ का फुर्तेन्जी शेर्पा र फुर्वा कुसाङ शेर्पा छन् । त्यसैगरी सोलुखुम्बु थामेका ङिमाटासी शेर्पा, फुर्वा छिरिङ शेर्पा र फोर्चेका तेन्जिङ ग्याल्जेन शेर्पा रहेका थिए ।

विभागका निर्देशक मीरा आचार्यले बसन्त यामको ल्होत्से आरोहण पनि औपचारिक रुपमा शुरु भएको बताइन् । उनका अनुसार विभागबाट ल्होत्से आरोहणका लागि १४ आरोही समूहका ९६ महिला र २९ पुरुष गरी एकसय २५ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।

त्यसैगरी, पुमरी (७,१६१ मिटर) हिमालको सफल आरोहण भएको छ । चार नेपाली र दुई भारतीयले सोमबार अपराह्न हिमाल आरोहण गरेसगैँ पुमरी हिमालको सफल रुपमा आरोहण भएको हो । विभागबाट पुमरी आरोहणका लागि नौ आरोहीले आरोहण अनुमति लिएका थिए ।

Share News