काठमाडौं । निसान कम्पनीले पायोनियर मोटो कर्प प्रा.लि. मार्फत सुरक्षित र दिगो भविष्यको प्रत्याभूति सहित नेपाली बजारमा विद्युतीय सवारी साधन लिफ ई.भी. उपलब्ध गराएको छ । जिरो ईमिशन विशेषता भएको निशान लिफ इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारी साधन) निसानको उत्कृष्ट, भरपर्दो र आकर्षक डिजाइनको नयाँ उत्पादन हो ।
जापानबाट आयात हुने यो पहिलो विद्युतीय सवारी साधन हो । निर्माता कम्पनीको उद्देश्य समाजमा सवारी साधनमा परिवर्तन ल्याउनुका साथै शक्तिशाली र सजिलो सवारी साधन उपभोक्ता समक्ष पुर्याउनु हो । यसको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
निशान मोटर इंडियाका अध्यक्ष सिनान ओजकोकका अनुसार, ‘विद्युतीय सवारी साधनको सेगमेन्टको लागि नयाँ अध्याय अंकित गर्दै निसानले नेपालमा दोश्रो जेनेरेसनको निसान लिफ सार्वजनिक गरेको हो, निसान को ’निसान इन्टेलीजेन्ट मोबीलीटी’ अन्तर्गत हाम्रा ग्राहकहरुले स्मार्ट, आरामदायी, वातावरण मैत्री र सुरक्षित अनुभवको लाभ लिन सक्नुहुनेछ, दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धतालाई कायम गर्दै हाम्रा ग्राहकहरु प्रतिको आत्मविश्वास र उत्साहजनक जिवनलाई पनि निरन्तरता दिनेछौं ।’
लिफ इलेक्ट्रिक भेहिकलको विशेषताबारे चर्चा गर्दै पायोनियर मोटो कर्प प्रा.लि.का प्रबन्ध निर्देशक सन्दिप कुमार शारदा भन्छन्, ‘इलेक्ट्रिक भेहिकलका विशेषताहरु र उपयोगिताबारे हाम्रा आदरणीय ग्राहकहरुलाई जानकारी गराउनुका साथै अब विश्वको र हाम्रो भविष्य नै इलेक्ट्रिक भेहिकल हो, शून्य प्रदुषण सहितको उपयुक्त प्रविधिमा आधारित यो सवारी साधन चालकदेखि यात्रुलाई समेत सुविधा सम्पन्न र आरामदायी छ, निसान लिफ ई.भी.ले आफ्ना ग्राहकहरुलाई सुरक्षित, स्मार्ट र सुविधा सम्पन्न यात्रा गर्न थप सहजिकरण गर्ने छ ।’
यस्को इन्टेलिजेन्ट पावर अन्तर्गत यसमा ४० किलोवाट हावरको ब्याट्री जडान गरिएको छ र एकपल्ट चार्ज गर्दा ३ सय ११ किलोमिटरसम्म चलाउन सकिन्छ । यसको अधिकतम गुड्ने क्षमता प्रतिघन्टा १४० किलोमिटर छ । ग्राहकहरुले यसलाई सजिलैसँग चार्ज गर्न सक्नेछन् । घरमा नै डेडिकेटेड वाल आउटलेटबाट १५ देखि १८ घण्टामा र निसानको चार्जिङ्ग स्टेसनबाट ४० देखि ६० मिनेटमा फूल चार्ज गर्न सकिन्छ ।
इन्टेलिजेन्ट ड्राइभिङ्ग अन्तर्गत निसान लिफको इ-पेडललाई चालकहरुले एकदमै रुचाएका छन् । यसले स्टार्ट गर्न, गति बढाउन र सजिलैसँग रोक्न सघाउँछ । यसमा ब्रेकले स्वचालित रुपमा काम गर्ने हुनाले ड्राइभ गर्न सजिलो मानिन्छ ।
निसान लिफ ११ वटा विभिन्न कलर अप्सनमा उपलब्ध हुनेछ जसमा ६ वटा सिङ्गल-टोन कलर रहेको छ भने ५ वटा डुअल-टोन कलर रहेको छ । निसान लिफ ई.भी.बाट एउटा गाडीबाट अर्को गाडीमा चार्ज गर्न सकिन्छ भने पावर होममा समेत पठाउन सकिन्छ । निसान लिफको ब्याट्रीमा कम्पनीले ८ वर्ष अथवा १ लाख ६० हजार किलोमिटर (जुन पहिला आउँछ) सम्मको वारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ ।