काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले सरकारले स्वदेशी उद्योगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
नेपाल राजश्व परामर्श समितिले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व नीति तथा कर सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
उनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा तेल उद्योगीलाई समस्या परेको भन्दै सरकारले ल्याएको उक्त नीति तत्काल सञ्चाउन माग गरे ।
‘सरकारले ल्याएको बजेटले तेल उद्योगलाई मर्का पर्यो बुझिदिनुपर्यो, सरकारले गरेको व्यवस्था पुनरावलोकन गर्न आवश्यक छ’, उनले भने, ‘बजेट कार्यान्वयनका लागि समिति बनाएर काम गर्नुपर्छ, उक्त समितिमा निजी क्षेत्रको सहभागिता अनिवार्य गर्नुपर्छ ।’
यस्तै, उनले बजेट औद्योगिकरणाका लागि कोशेढुङ्गा बन्छ सक्ने बताए ।
नेपाल बनस्पति घ्यू तेल उत्पादक संघले तेलको कच्चा पदार्थको आयातमा भन्सार छुटको माग राख्दै आएको छ । तेल उद्योगीले आवश्यक कच्चा पदार्थको आयातमा १० प्रतिशत भन्सार हुँदा सरकारले बजेट मार्फत बिस्कुट उद्योगलाई ५ प्रतिशत भन्सारमा तयारी तेल ल्याउने व्यवस्था गरेको भन्दै उद्योगीहरु विवादीत बनेका छन् ।
बिस्कुट उद्योगले १५ प्रतिशत भन्सारमा तेल आयात गर्दै आएकोमा सरकारले त्यसलाई घटाएर ५ प्रतिशत कायम गरेको छ ।
यस्तै, अध्यक्ष अग्रवालले बजेट कार्यान्वयनमा चुनौति देखिएको बताए ।