गोर्खाकी मिनाले बनाउँछिन ८ हजार पर्ने टोपी, २० हजार पर्ने सारी

<p>काठमाडौं । १४ वर्ष अगाडि गोरखा सिरानचोककी मिना गुरुङको जिन्दगी गाउँघरमा घाँस दाउरा गर्दै चल्दै थियो । मेलापात गर्दै उनले आफ्नो जीविकोपार्जन गर्थिन् । छोराहरु हुँर्कदै थिए । अब छोराहरुलाई पढाउने बेला पनि भयो भनेर विद्यालय नजिक पर्ने गोरखा नगरपालिकामा झरिन् । समय आफ्नो रफ्तारमा अगाडि बढ्दै थियो । उनले एक दिन अचानक सुनिन् कि उनको [&hellip;]</p>

काठमाडौं । १४ वर्ष अगाडि गोरखा सिरानचोककी मिना गुरुङको जिन्दगी गाउँघरमा घाँस दाउरा गर्दै चल्दै थियो । मेलापात गर्दै उनले आफ्नो जीविकोपार्जन गर्थिन् । छोराहरु हुँर्कदै थिए । अब छोराहरुलाई पढाउने बेला पनि भयो भनेर विद्यालय नजिक पर्ने गोरखा नगरपालिकामा झरिन् ।

समय आफ्नो रफ्तारमा अगाडि बढ्दै थियो । उनले एक दिन अचानक सुनिन् कि उनको श्रीमानले दोस्रो विवाह गरे । तर, मिनाले उनको श्रीमानको दोस्रो विवाहलाई खासै ठूलो रुपमा लिइनन् ।

उनले आफूमाथि जिम्मेवारी थपिएको आभास गरिन् । ‘हुन त श्रीमानले अर्को विवाह गरेको कसलाई पो राम्रो लाग्छ र, मलाई पनि राम्रो लागेन तर गर्न सकिने केही थिएन, थप जिम्मेवारी थपियो भन्ने महसुस गरेँ, छोराहरुरलाई जसरी भएपनि पढाउनु पर्छ भन्ने अठोटका साथ अगाडि बढेँ,’ उनले भनिन् ।

छोरालाई स्कूल पुर्याउने र उनीहरूलाई ल्याउने, खाना पकाएर खुवाउमै उनको दैनिकी बित्न थाल्यो । छोराहरू विद्यालय गएको बेला उनी दिनभर खालि हुन्थिन् । घरको आर्थिक अवस्था कमजोर नै थियो ।

उनमा अब केही न केही काम गर्नु पर्छ भन्ने अठोट पलायो । नयाँ ठाउँमा कुन काम गर्ने भनेर उनी अलमलमा थिइन् । गाउँबाट भर्खर शहर झरेको न हातमा कुनै सीप, न धेरै कुरा बुझको ।

अलमल नै अलमलको बीचमा उनले उद्योग वाणिज्य संघ र साना तथा घरेलु उद्योगले सहकार्य गरी ढाका बुनाइको तालिम प्रदान गर्ने गरेको सुनिन् । नभन्दै उनलाई सो ठाउँमा गएर सीप सिक्ने अवसर मिल्यो । छोराहरूलाई विद्यालयमा पुर्याई दिनको समयमा ढाकाको टोपी, सल, सारी आदि बनाउन सिक्न थालिन् ।

त्यतिकैमा तालिम सकियो । प्रविधि हस्तान्तरण भन्नेर ८० प्रतिशत छुटमा सो तालिम सिकेकाहरूलाई तानका सामानहरू दिने भयो । उनले पनि एउटा तान किनिन् । त्यो तानबाट उनले घरेलु उत्पादन सल, टोपी बनाउँदै बिक्री गर्दै घर खर्च चलाउन थालिन् ।

एउटा सटर खोजेर तानका सामानहरू खरिद गरी आफैले नै पसल खोल्ने योजना बनाइन् । योजना त बन्यो तर पैसा भएन । पैसाको खोजी गर्दा सीपमूलक तालिम सिकेको भएर उनलाई ग्रामीण विकास बैंकले ऋण दियो । सो बैंकबाट लिएको २५ हजार रुपैयाँबाट उनको व्यावसायिक यात्रा सुरु भयो ।

पहिले सीप थिएन, सीप सिकेपछि पैसा भएन, पछि सीप सिकेको भएर पनि होला ग्रामिण विकास बैंकले २५ हजार ऋण पत्यायो,’ त्यहीँबाट मैले व्यवसायिक यात्रा सुरु गरेँ,’ उनले भनिन् ।

मिनाले २०६७/६८ मा उद्योग दर्ता गरी ढाका पसल व्यावसायिक यात्रामा सुरु गरिन् । पसल सञ्चालन गरेको केही महिना देखिनै व्यापार पनि राम्रो हुन थाल्यो । त्यहाँ बनाएको सामान बजारमा पनि माग बढ्न थाल्यो ।

उनले केही महिला दिदिबाहिनिहरुलाई सहयोगीको रूपमा राखेको पनि बताइन् । चार जनालाई भने रोजगारी दिएकी छन् ।

‘२५ हजारबाट सुरु गरेको ढाका पसल अहिले १६ लाख रुपैयाँको पुर्याएको छु, मैले दुःख गरे अनुसार छोराले पनि राम्रो पढ्दैछन्, ठूलो छोराले अहिले कक्षा १२ र कान्छो छोराले ८ कक्षामा पढ्दैछ, पहिले धेरै दुःख गरियो, अहिले खासै त्यस्तो दुःख छैन,’ उनले भनिन् ।

कोरोना भाइरस संक्रमणपछि व्यापारमा केही गिरावट आएको उनको भनाइ छ । कोभिड अगाडि दिनको ४० हजार रुपैयाँको सामान बिक्री हुन्थ्यो भने अहिले २० हजारको मात्र हुन थालेको छ । उनका अनुसार अहिले मासिक २ लाख रुपैयाँ सम्मको कारोबार हुन्छ ।

उनको पसलबाट २ सय जनाले सीपमूलक तालिम लिएको उनी बताउँछिन् । ढाकाको कपडा बनाउँदा मिहिनेत र समय लाग्छ । परम्परागतदेखि नै चलिआएका तथा गाउँघरमा प्रयोग गर्ने तानबाट कपडा निर्माण गर्दा यसको मूल्य पनि बढी नै पर्छ । अहिले उनको पसलबाट उत्पादन भएको सामाको उच्च माग छ । तर, माग अनुसारको आपूर्ति र उत्पादन गर्न नसकेको पनि गुरुङले बताइन् ।

मिना अहिले गाउँमै सफल उद्यमीको उपमाले परिचित छिन् । सफल उद्यमी बनेको नै कारण उनलाई विभिन्न संघसंस्थाबाट सम्मान मिलेको छ । भाडाको सटरबाट सुरू भएको उनेको व्यापार उद्योगमा परिणत भइसकेको छ ।

मिना हाल गोरखा नगरपालिकाको शक्ति चोकमा बसोबास गर्दै आएकी छन् । व्यापार राम्रो भयो भने आफ्नै जग्गामा उद्योग सञ्चालन गर्ने तयारीमा उनी छन् ।

२ रोपनी जग्गा

ढाका पसल सञ्चालन गरेर नै २ रोपनी जग्गा जोडेको मिनाले बताइन् । गोरखाको पालुङटारमा उनले विगत ४ वर्ष अगाडि ३२ लाख रुपैयाँमा जग्गा किनेकी छन् ।

व्यापार सञ्चालन गर्नको सो जग्गालाई धितो राखेर ५ प्रतिशत ब्याजदरमा एनएबी बैकबाट १५ लाख रुपैयाँ ऋण पनि लिएकी गुरुङले बताइन् ।

‘हाल ६ लाख रुपैयाँमात्र ऋण तिर्न बाँकी छ,’ कोभिड नभएको भए सो ऋण पनि तिरी सक्थेँ, सो बैंकको ऋण तिरेर फेरी जग्गा किन्ने तयारीमा छु,’ उनले भनिन् ।

यस्तै, उनले उत्पादन गरेको एउटा ढाकाको टोपीको मूल्य १ सयदेखि ८ हजार रुपैयाँसम्म पर्छ । मिनाका अनुसार यसको गुणस्तर हेरेर मूल्यको निर्धारण गरिन्छ ।

‘८ हजार रूपैयाँ टोपी बनाउन एक हप्ता लाग्छ, यसको मूल्य यति नै पर्छ भन्न सकिँदैन, यसको गुणस्तरअनुसार मूल्य हुन्छ । बढि मिहेनेत र आकर्षक छ भने बढी नै मूल्य हुन्छ,’ उनले भनिन् ।

यस्तै, एउटा सारीको मूल्य ६ हजारदेखि २० हजार रुपैयाँसम्म पर्छ । सो सारी नेपाली बजारमा पनि बिक्री हुने र विदेशीमा पनि निर्यात हुँदै आएको उनले बताइन् ।

Share News