सिमेन्ट बोकेर विद्युतीय बसको क्षमता परिक्षण, साझाले थप ४० वटा गाडी किन्ने

<p>काठमाडौं । साझा यातायातले चीनबाट ल्याएको तीन थान विद्युतीय बसको सडक क्षमता परीक्षण सकिएको जनाएको छ । यातायात व्यवस्था विभाग र साझा यातायातका प्रतिनिधिले जेठ दोस्रो सातादेखि उक्त विद्युतीय बसको सडक क्षमता परीक्षण गरेका थिए । बसमा सिमेन्टका बोरादेखि मान्छे (यात्रु) राखेर सडक क्षमता परीक्षण गरिएको थियो । परीक्षणका क्रममा बसको क्षमतामा कुनै समस्या नदेखिएको [&hellip;]</p>

काठमाडौं । साझा यातायातले चीनबाट ल्याएको तीन थान विद्युतीय बसको सडक क्षमता परीक्षण सकिएको जनाएको छ । यातायात व्यवस्था विभाग र साझा यातायातका प्रतिनिधिले जेठ दोस्रो सातादेखि उक्त विद्युतीय बसको सडक क्षमता परीक्षण गरेका थिए ।

बसमा सिमेन्टका बोरादेखि मान्छे (यात्रु) राखेर सडक क्षमता परीक्षण गरिएको थियो । परीक्षणका क्रममा बसको क्षमतामा कुनै समस्या नदेखिएको जनाइएको छ ।

आवश्यक सम्पूर्ण परीक्षण सकिए पनि परीक्षण प्रतिवेदन सार्वजनिक नभएको साझा यातायात सञ्चालक समितिका सदस्य भुषण तुलाधरले जानकारी दिए ।

उनले एक दुई दिनमा परीक्षण प्रतिवेदन आएपछि बोर्ड बैठकले विद्युतीय बस सञ्चालनको विषयमा निर्णय गर्ने जानकारी दिए ।

‘परीक्षण सकिएको छ, साझा र यातायात व्यवस्था विभागले संयुक्त रुपमा विद्युतीय गाडीको सडक क्षमता परीक्षण गरेको हो, परीक्षण रिपोर्ट सार्वजनिक भएपछि ती बस यहाँको सडकका लागि ठीक भएमा थप बस ल्याउँछौँ’, उनले भने ।

परीक्षण रिपोर्ट सार्वजनिक भएको चार महिनाभित्र बाँकी ४० थान बस ल्याउने साझाले जनाएको छ ।

समितिले दिएको प्रतिवेदनका आधारमा साझा यातायातको बोर्ड बैठक बसेर बस सञ्चालन गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ । बोर्ड बैठकले गरेको निर्णयका आधारमा बस कहिलेबाट सञ्चालन हुने टुंगो लाग्ने तुलाधर बताउँछन् ।

बोर्ड बैठकको निर्णयपछि चालकलाई तालिम

बोर्ड बैंठकले चीनबाट ल्याईएको तीन थान विद्युतीय बसको विषयमा निर्णय गरेपछि मात्र बाँकी प्रक्रिया सुरु हुनेछ ।

तुलाधरले बोर्ड बैठकका आधारमा विद्युतीय बस सञ्चालनका लागि चालकलाई तालिन दिनेदेखि बाँकी कामहरु अघि बढाइने जानकारी दिए ।

संस्थाले २०७७ को असोज २२ गते चीनको सिएचटीसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार साझाले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्नका लागि पहिलो चरणमा ३ वटा विद्युतीय बस ल्याएर परीक्षण गरेको हो । उक्त परीक्षण सफल भएमा साझाले थप विद्युतीय बस नेपाल ल्याउनेछ ।

सो सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ । सम्झौता अनुसार संस्थाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ प्रदान गर्नेछ ।

संस्थाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र अनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’ हरु मिलेको र कम मूल्य कबोल गरेको सो कम्पनीको प्रस्ताव स्वीकृत गरेको तुलाधरले बताए ।

२६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्ने भनिएको छ ।

सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयतित इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गर देशको अर्थतन्त्रलाई टेवा दिने दाबी गरिएको छ । अर्कोतिर वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने सञ्चालक समिति सदस्य तुलाधरले बताए ।

विगतदेखि नै सार्वजनिक यातायात सञ्चालनमा संस्थाले संघीय, प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा काठमाडौँलगायत देशका अन्य सहरमा समेत सहकार्य गर्दै आएको थियो । आगामी दिनमा वातावारण मैत्री र प्रभावकारी सार्वजनिक यातायात सेवा विस्तारमा समेत तीन तहको सरकारसँग सहकार्य बढाउने योजना रहेको तुलाधरले बताए ।

संस्थाले ललितपुर महानगरपालिकासँगको सहकार्यमा थप चार विद्युतीय बस खरिद गर्ने प्रक्रियासमेत अगाडी बढाएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेशनको व्यवस्था गर्ने र पुराना डिजेलका गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न आवश्यक अनुसन्धान गर्ने काम पनि अघि बढाइरहेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिदको निर्णय गरेको थियो । सरकारले विसं २०७६ असारमा बस खरिदको जिम्मेवारी साझालाई दिइने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरिदका लागि संस्थाको तीन अर्बको शेयर खरिद गरेको थियो । संस्थाले रकम पाएको महिनौँसम्म पनि खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन ।

पछि संस्थाले स्पेसिफिकेसनभन्दा फरक बस किन्न खोजेको पाइएको भन्दै रकम फिर्ता गरेको थियो । त्यसपछि पुनः बस खरिद गर्दा कुन प्रक्रियाबाट खरिद गर्ने भनी निर्णय हुन नसक्दा लामो समयसम्म बस खरिदमा अन्योल रहेको थियो । लामो छलफल पछि पुनः साझालाई नै खरिदको जिम्मेवारी दिइने निर्णय भएको थियो ।

तीन वर्ष पहिले नै वाग्मती सरकार, काठमाडौं र ललितपुर महानगरपालिकाले साझा यातायातमार्फत बस खरिद गर्ने गरी संस्थाको शेयर खरिद गरेका थिए ।

Share News