काठमाडौं । नेपाल आयल निगमले अब उद्योगी र घरायसी प्रयोजनका लागि प्रयोग हुने ग्यास फरक–फरक रुपमा ल्याउने भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमको घाटा बढाउनका लागि ग्यासले महत्वपूर्ण भूमीका खेलेको बताउँदै अब यसको स्तरीकरण गर्ने बताएका हुन् ।
सोमबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उद्योगी र घरायसी प्रयोजनका लागि प्रयोग हुने ग्यासको मूल्य पनि फरक–फरक हुने बताए । उनका अनुसार दुवै ग्यासको आकार, गन्धर रङ र मूल्य पनि फरक हुनेछ ।
उनले उद्योगीले प्रयोग गर्ने ग्यासको मूल्य घरायसीभन्दा महँगो पर्न सक्ने बताए । यस्तै, उनले खाना पकाउन प्रयोग हुने एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने बताए । थानीले यसका लागि अहिले अध्ययन समितिले अध्ययन गरिरहेको समेत बताए ।
यस्तै, उनले निगमले साउनदेखि पेट्रोलियम पदार्थ परल मूल्यमा बिक्री गर्ने बताए । ‘अहिले पनि पेट्रोल, डिजल र मट्टितेलमा निगमले घाटा बेहोर्दै उपभोक्तालाई बिक्री गरिरहेको छ, साउनदेखि परल मूल्यमै बिक्री हुन्छ, उद्योगी र घरायसी प्रयोगको ग्यासको मूल्य पनि फरक हुनेछ,’ उनले भने ।