काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा उद्योगी तथा व्यवसायीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरूले मौद्रिक नीति उद्योगको लागि राम्रो भएको तर ब्याजदरमा हुने वृद्धिले भने लागत वृद्धि हुने उनीहरुको प्रतिक्रिया रहेको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मौद्रिक नीतिले सरकारले चालु आवको लागि बजेटमा निर्धारित गरेको लक्ष्य प्राप्ति गर्न सहयोग नपुर्याउने बताए । मौद्रिक नीतिमार्फत् उत्पादन र वाणिज्य क्षेत्रको लागि लिइएको ब्याजको स्ल्यापले सो अवस्था सिर्जना गर्ने अध्यक्ष मल्लले बताएका हुन् ।
उनले चालु आवको लागि ल्याइएको मौद्रिक नीतिले सरकारले बजेटमार्फत् भनेको ७ प्रतिशत मुद्रास्फिति कायम गर्न र ८ प्रतिशत आर्थिक वृद्धि कायम गर्न समेत सहयोग नपुर्याउने उनकाे भनाइ छ ।
मौद्रिक नीति कसिलो रुपमा आएको र यसले बजारमा थप महँगी सिर्जना गर्ने अध्यक्ष मल्लको भनाइ छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले मौद्रिक नीति उद्योगहरुको निम्ति केही राम्रो भएको प्रतिक्रिया दिए । तर, अग्रवालले मौद्रिक नीतिले मनीको सप्लाईमा धेरै नै नियन्त्रण गर्ने र ब्याजदर बढाउने कारणले मूल्यवृद्धि हुने अवस्था सिर्जना गर्ने बताए ।
त्यस्तै, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले ब्याजदर बढाउने गरी मौद्रिक नीति आएकोमा दुःख लागेको बताए । आफुहरुले ब्याजदर बढेर आउने अपेक्षा नगरेको तर मौद्रिक नीतिले ब्याज बढाएकोमा त्यसले उद्योगीहरुलाई समस्यामा पार्ने उनको भनाइ छ ।
उपाध्यक्ष श्रेष्ठका अनुसार बैंकको ब्याजदर वृद्धि हुने अवस्था सिर्जना गर्दा उद्योग तथा व्यवसाय गर्नेहरुको लागत बढ्छ ।