काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले अन्तर्राष्ट्रिय स्तरका होर्डिङ बोर्डहरु हटाएमा सोरुम नै खोसिन सक्ने चुनौति रहेको बताएको छ । सोमबार नाडाले पत्रकारहरुसँग धारणा राख्दै पछिल्लो समय काठमाडौं महानगरले धमाधम होर्डिङ्ग बोर्डहरु हटाउने गरेकोले सोरुममा राखिएका बोर्ड हटाए ती सोरम नै नेपालबाट खोसिन सक्ने चुनौति रहेको बताएको हो ।नाडाका अध्यक्ष धु्र्ब थापाले काठमाडौं महानगरले गाडी शोरुममा राखिएका होर्डिङ बोर्डहरु ३ दिनभित्र हटाउन निर्देशन दिएकोले शोरुममा राखिएका बोर्ड नहटाउन आग्रह गरेका छन् ।
‘महानगरपालिकाले गरेका काम राम्रो छ। शहरलाई राम्रो बनाउनको लागि बोर्ड हटाउनु राम्रो हो, त्यसमा हाम्रो सहमत छ,अटो मोबाइलमा राखिने बोर्डहरु अन्तर्राष्ट्रिय स्तरका हुन्छन्, विश्वभर त्यही बोर्ड हुन्छ, हामीले त्यो बोर्ड राखेनौं भने नेपालबाटै डिलर खोसिने सम्भावना हुन्छ,’ अध्यक्ष थापाले भने ।
काठमाडौं महानगरपालिकाले व्यापार व्यवसायगर्ने व्यक्ति, संघ संस्थाहरूले आफ्नो कार्यस्थलबाहिर राख्दै आएको होर्डिङ बोर्ड (परिचय पाटी) हटाउँदै आएको छ । महानगरपालिकाले ३० वर्गफुट भन्दामाथिका सबै परिचयपाटी हटाउँदै आएको छ ।
महानगरपालिकाले परिचयपाटी राखे बापतको शुल्क ३० दिनभित्रबुझाउन गत असोज ७ गते सूचनाजारी गरेको थियो ।