
जाजरकोट । बारेकोट गाउँपालिकाले पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने उद्देश्यका साथ कामको सुरु गरेको छ । सबैलाई सफा खानेपानी पिउने उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।
अध्यक्ष गिरीका अनुसार अहिले पालिकाको वडा नम्बर १, २ र ३ मा खानेपानीको धारा पुर्याउने कामको सुरुआत भइरहेको छ । सो वडामा हेल्पिटास नेपाल, गाउँपालिका र पहाडी क्षेत्र विकास अभियानको सामाजिक परिचालनमा चार सय ३१ घरधुुरीमा चालु आर्थिक वर्ष २०७९/८० भित्रै खानेपानीको धारा जडान गर्ने लक्ष्य लिइएको छ ।
यो कार्यक्रम खारी, बयाल, बूढागाउँ, सिल्पाचौर, तलिआग्र, लिम्सामा लक्षित छ । लगभग दुई करोड २९ लाख ५९ हजार दुई सय ७८ रुपैयाँको लागतमा योजना सञ्चालन गरिएको हो । त्यस्तै बारेकोट–२ का ध्यारगाउँ, गैरागाउँ, कुनाउटा, रोकायगाउँका एक सय २८ घरधुरीमा धारा जडानका लागि ८० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
वर्षौंदेखि खानेपानीको अभावमा समस्य भोग्दै आएका यहाँका सर्वसाधारण घरमै खानेपानीको धारा जडान हुन थालेपछि खुसी भएको बारेकोट-२ का स्थानीय पदम रोकायले बताए ।
गाउँपालिकाको सहकार्यमा सबै वडामा खानेपानी पुर्याउनका लागि आफूहरु लागिपरेको परिचालनको क्षेत्रमा काम गरिरहेको पहाडी क्षेत्र विकास अभियानका प्रदीपजङ्ग शाहको भनाइ छ ।
हाल गाउँपालिकाले जलउपयोग योजना निर्माण गरिरहेको छ । जनसंख्या वृद्धि, पानीको बहुउपयोग, स्रोतको अभाव, जलवायु परिवर्तनलगायत कारणले सीमित पानीको स्रोतले मानिसको आवश्यकता परिपूर्ति गर्नुपर्ने अवस्था रहेकाले गुरुयोजना निर्माण गर्न लागिएको पनि गाउँपालिका अध्यक्ष गिरीले जानकारी दिए ।
पानीलाई आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरी पानीलाई कसरी उपयोग गर्ने भन्ने विषयमा बृहत् योजना बनाएर कार्यान्वयन गर्दै लैजाने गिरीको भनाइ छ ।
जलउपयोग गुरुयोजना जलस्रोतको एकीकृत विकासका लागि स्थानीय समुदायले सहभागितामूलक र समावेशी पद्धति अपनाएर जलस्रोतको योजना तर्जुमा र व्यवस्थापन गर्ने प्रक्रिया हो । यो प्रक्रियाले गाउँपालिकाभित्र भएका प्रयोग हुनसक्ने सम्भावित पानीका स्रोतको लेखाजोखा गर्नेछ ।
‘स्थानीयस्तरमा जलस्रोतको प्रभावकारी तथा न्यायोचित ढङ्गले पानीको उपयोग गर्न एकीकृत योजनाको विकास गर्नु नै यसको उद्देश्य हो, पानीको सही उपयोग र न्यायोचित बाँडफाँट र दिगो प्रयोगको सुनिश्चित हुनेछ, उनले भने ।
जलउपयोग गुरुयोजना तयार भएपछि गाउँपालिकाको नेतृत्व लिएर सरकारी तथा गैरसरकारी निकायको समन्वयमा पानीसम्बन्धी विभिन्न आयोजनाको कार्यान्वयन गर्न थप सहज हुने विश्वास लिइएको छ । रासस