समयमा काम नसक्न चौध ठेकेदारलाई कारबाही गर्ने तयारीमा भरतपुर महानगर

<p>चितवन । भरतपुर महानगरपालिकाले समयमा काम नसक्ने १४ ठेकेदारलाई कारबाहीको तयारी गरेको छ । महानगरपालिका भित्रका विभिन्न विकास निर्माणका जिम्मा लिएर काम सुरु नगर्ने, अलपत्र छाड्ने र काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाहीको प्रक्रिया सुरु गरिएको हो । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार महानगरले यस वर्ष दुईवटा निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिस गरी सकेको छ । [&hellip;]</p>

चितवन । भरतपुर महानगरपालिकाले समयमा काम नसक्ने १४ ठेकेदारलाई कारबाहीको तयारी गरेको छ । महानगरपालिका भित्रका विभिन्न विकास निर्माणका जिम्मा लिएर काम सुरु नगर्ने, अलपत्र छाड्ने र काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाहीको प्रक्रिया सुरु गरिएको हो ।

महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार महानगरले यस वर्ष दुईवटा निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिस गरी सकेको छ । ती कम्पनी कारबाहीमा समेत परिसकेका छन् । अन्य १४ ठेकेदारलाई कारबाहीका लागि महानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको पनि आचार्यले जानकारी दिए ।

‘कार्यपालिका बैठकले कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिसकेको छ, कारबाहीका लागि सिफारिसको प्रक्रियासमेत सुरु भइसकेको छ, समयमा काम सम्पन्न नगर्ने उनीहरुलाई चाँडै नै कारबाहीका लागि सिफारिस गर्न आवश्यक प्रक्रिया भइरहेको छ,’ उनले भने ।

महानगरको सिफारिसपछि कारबाही गरिएकामा अनुष्ठा कन्ट्रक्सन प्रालि काठमाडौँ र जनकन्ट्रक्सन भरतपुर १९ रहेको पनि आचार्यले बताए । सिफारिस गरिएका ती दुई कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कारबाही गरेको हो ।

कारबाहीको सिफारिस गरिएकालाई कामको प्रकृति हेरि एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने गरेको पनि आचार्यले बताए । जन कन्ट्रक्सनले बोलपत्र पाए पनि सम्झौता गर्न नआएकाले कारबाही गरिएको हो भने अनुष्ठानले तोकिएको समयमा दुई वटा काम नगरेकाले कारबाहीमा परेको हो ।

कालोसूचीमा परेका ठेकेदारले राखिएको सूचीअनुसार एकदेखि तीन वर्षसम्म देशभर विकास निर्माणको काममा ठेक्का सम्झौता गर्न नपाउने र बाँकी रहेको कामको समेत चलन चल्तिको मूल्यमा असुलउपर गराउने पनि आचार्यले जानकारी दिए । उनका अनुसार असुलउपरका लागि तहशिल कार्यालयले सरकारी सम्पत्तिसरह गर्ने गरेको छ ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले ठेक्का सम्झौता गरी काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाहीको प्रक्रिया सुरु गरिएको बताए । उनका अनुसार दुई चरणमा गरी अहिले सिफारिस गर्न लागिएको र अन्यको विषयमा समेत छलफल भइरहेको छ ।

समयमा काम सम्पन्न गर्नेलाई पुरस्कृत र काममा ढिला गर्नेलाई दण्ड जरिवानाको पद्धति बसाल्न महानगरले आफ्नो काम सुरु गरेको उनको भनाइ छ । ‘समयमा काम नगर्नेलाई कारबाही र समयमा काम सम्पन्न गर्नेलाई सम्मान गर्ने गरी हामी लागेका छौं, ठेकेदार कम्पनीलाई कुनै पनि बाहनामा कामममा ढिलासुस्ती गर्न छुट छैन,’ उनले भने । रासस

Share News