
काठमाडौं । दाउने फोलियो मिलका सञ्चालक श्रीकृष्ण पोख्रेलले अहिलेको अवस्थामा उद्योगबाट नाफा नचाहिएको र व्याज तिर्ने पैसा भए पुग्ने बताएका छन् । नेपाल मैदा उद्योग संघको २३ औं वार्षिक साधारण सभामा बोल्दै पोख्रेलले बैंकको व्याज बुझाएर उद्योग सञ्चालन गर्न सके पर्याप्त हुने बताएका छन् ।
‘उद्योग लिलाममा नचडाेस्, हामी भाग्न नपरोस्, बैंकको ब्याज तिर्न सके भयो,’ उनले भने ।
मैदा मिलको लागि कच्चा पदार्थ पर्याप्त उपलब्ध हुन नसक्दा विगतदेखि नै धेरै समस्या भाेग्नु परेको पनि पोख्रेलले बताए ।
बैंकको बढ्दो ब्याजदरका कारण उद्योगी व्यवसायी समस्यामा परेको पोख्रेलको भनाइ छ । उनले गत वर्ष मैदाको लागि कच्चा पदार्थ नपाउँदा समस्यामा परेकाे बताए ।
‘हामी भारतसँग निर्भर छौं, हामीसँग उत्पादनको कमी छ, उनीहरूलाई अनुरोध गरेर गहुँ ल्याउनु पर्ने अवस्था छ, सरकारबाट सहयोग पाएका छौं, त्यसैले तीन लाख मेट्रिक टन गहुँ आउने तयारीमा छ,’ उनले भने ।
‘हाम्रो आन्तरिक उत्पादन जबसम्म पूर्णता पाउन सक्दैन, तबसम्म रोजगारीले पूर्णता पाउँदैन, उद्योग स्थापना भई राम्रोसँग सञ्चालन नहुँदासम्म देशको आर्थिक स्थिति उठ्न सक्दैन,’ उनले भने ।
उद्योगका कमजोर भए भने राज्य बलियो हुन नसक्ने पनि उनको भनाइ छ । पोख्रेलले आगामी दिनमा नेपालको उद्योग कृषि उद्योगको रूपमा स्थापित हुन पर्ने पनि बताए ।