
काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) को व्यापार ५२ प्रतिशतले घटेको छ । विगत एक वर्ष अर्थात आर्थिक वर्ष २०२३ मा कम्पनीको व्यापार ५१.९९ प्रतिशतले घटेको हो ।
अघिल्लो आर्थिक वर्ष अर्थात २०२२ मा ७ अर्ब ६१ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीको २०२३ मा ह्वात्तै घटेर ३ अर्ब ६५ करोड ६० लाख रुपैयाँमा खुम्चिएको छ । जुन आर्थिक वर्ष २०२१ को व्यापारको तुलनामा पनि कम हो । कम्पनीले आर्थिक वर्ष २०२१ मा पनि ४ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
नेपाल राष्ट्र बैंकले गाडी आयातमा प्रतिबन्ध गरेसँगै त्यसको प्रत्यक्ष असर कम्पनीको व्यापारमा देखिएको जनाइएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०२३ को पहिलो ६ महिनामा यात्रु बोक्ने सवारीसाधन आयातमा पूर्णरूपमा रोक लगाएको थियो ।
वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रीज एन्ड ट्रेडिङ हाउजेज अन्तर्गतको कम्पनी यूटीएसले नेपालमा टोयोटा गाडीलगायत विभिन्न गाडीहरूको स्पेयर पाटर्स बिक्री तथा वित्तरण गर्दै आएको छ । स्वर्गीय डा. विजय गजानन्द वैद्यले सन् १९६७ मा नेपाली बजारमा मोबिलिटी ल्याउने भिजनसहित यस कम्पनीको स्थापना गरेका थिए । उनले ६ वटा गाडी बेच्ने लक्ष्यसहित यसको सुरुवात गरेका थिए । तर सन् १९७० को अन्त्यसम्ममा कूल ३५३ वटा गाडीहरु बिक्री गर्न उनी सफल भएका थिए ।
हाल कम्पनीमा तीन जना सेयरधनी रहेका छन् । सेयरधनीमध्ये अध्यक्ष सुरज वैद्यको ६० प्रतिशत, प्रबन्ध निर्देशक रितु सिंह वैद्यको ३० प्रतिशत र निर्देशक सुर्यांश वैद्य श्रेष्ठको १० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
कम्पनीेले केयर रेटिङ एजेन्सी केयर रेटिङ नेपालमा ४ अर्ब रुपैयाँ बराबरको कर्जाको लागि रेटिङ गराएको छ । यससँगै केयर रेटिङ नेपालले एक अर्ब ३८ करोडको दीर्घकालीन कर्जाको लागि केयर एनपीबीबी प्लस र २ अर्ब ६२ करोडको अल्पकालीन कर्जाको लागि केयर एनपी एफोरप्लसको रेटिङ दिएको छ ।