नेपालमा लगानी गर्नुस्, सहकार्यका लागि हामी तयार छौं : चन्द्र ढकाल

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्तालाई आग्रह गरेका छन् । आइतबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने बताए । विश्वका उदाउँदा ठुला [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्तालाई आग्रह गरेका छन् ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने बताए ।

विश्वका उदाउँदा ठुला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताएका छन् ।

नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै विश्वभरबाट जम्मा भएका करिब दुई हजार लगानीकर्तालाई उनले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहमामा लगानीको सम्भावना रहेको बताए ।

अध्यक्ष ढकालले हालै नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालीन विद्युत व्यापार सम्झौताको स्मरण गर्दै यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहूच पुर्‍याउने बताए ।

त्यसैगरी उनले अर्को छिमेकी मुलुक बंगलादेशसँगको विद्युत व्यापार सम्झौता अन्तिम चरणमा रहेको उल्लेख गरे ।

उनले नेपालको सांस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशिल जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताए ।

‘अर्को महत्वपूर्ण र सम्भावना भएको क्षेत्र दक्ष जनशक्तिको उत्पादन हो । यसका लागि नेपालमा उच्चस्तरको प्राविधिक स्कूल स्थापना गर्नुपर्ने हुन्छ जसले नेपालमा रहेको दक्ष श्रमशक्तिको अभावलाई मात्र समाधान गर्ने छैन मुलुकबाट वैदेशिक रोजगारका लागि जाने ठूलो जनशक्तिलाई दक्ष बनाई उनीहरूको क्षमता अभिवृद्धि गर्दै विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सको रकम पनि बढाउन सहयोग पुग्नेछ,’ ढकालले भने ।

हालै नेपाल सरकारले अध्यादेशमार्फत लगानीका लागि बाधक ठानिएका केही पुराना कानुनहरू संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै महासंघसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको समेत उनले उल्लेख गरे ।

त्यसैगरी, महासंघको पहलमा दुई पक्षीय लगानी (बीआईए) फ्रेमवर्क तयार भई मन्त्रिपरिषदबाट पारित समेत भइसकेको छ । यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानीको वातावरण निर्माणमा सहयोग पुग्ने उनले बताए ।

मलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघले केही समय पहिले भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र युएईको दुवईमा विजनेस समिटको आयोजना गरेको बताए ।

उनले महासंघ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउँदै नेपाली लगानीकर्ताहरू विदेशी लगानीको साथ नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि तयार रहेको समेत बताए ।

उनले विदेशी लगानी पुँजी र प्रविधि भित्र्याउन मात्र नभई मुलुक भित्र राजस्व वृद्धि, रोजगारी सृजना र उत्पादन बढाउदै मुलुकलाई आर्थिक विकास र सम्मृद्धिको यात्रामा अगाडि बढाउन आवश्यक रहेको बताए ।

Share News