प्राधिकरणले रोक्यो सिटिजन लाइफको अन्तरिम लाभांश

<p>काठमाडौं । नेपाल बीमा प्राधिकरणले सिटिजन लाइफ इन्योरेन्सको अन्तरिम लाभांश रोकेको छ । कम्पनीले सेयरधनीका लागि अन्तरिम लाभांश घोषणा गरेपनि नियामक प्राधिकरणले भने सो लाभांश वितरण नगर्ने अडान राख्दै प्रक्रिया रोकेको हो । सिटिजन लाइफले सोमबार २८.४  प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरेको थियो । बैशाख २३ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजी ३ अर्ब [&hellip;]</p>

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सिटिजन लाइफ इन्योरेन्सको अन्तरिम लाभांश रोकेको छ । कम्पनीले सेयरधनीका लागि अन्तरिम लाभांश घोषणा गरेपनि नियामक प्राधिकरणले भने सो लाभांश वितरण नगर्ने अडान राख्दै प्रक्रिया रोकेको हो ।

सिटिजन लाइफले सोमबार २८.४  प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरेको थियो । बैशाख २३ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँको २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा थियो । तर, प्रक्रिया  नअपनाएको भन्दै प्राधिकरणले सो लाभांश रोकेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणले रोकेसँगै अब सेयरधनीले लाभांश पाउने छैनन् । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल कम्पनीले प्राधिकरणको स्वीकृति नलिई लाभांश घोषणा गरेपछि लाभांश वितरण गर्न नदिने निर्णय गरेको बताउँछन् । प्राधिकरणले पत्र काटेर लाभांश वितरण नगर्न निर्देशन दिएको उनको भनाइ छ ।

‘प्राधिकरणको स्वीकृति नलिई कम्पनीले लाभांश वितरण गर्न पाउँदैन,  बीमा ऐनअनुसार नियामकबाट स्वीकृति लिएर लाभांश घोषणा गर्नुपर्छ । तर, कम्पनीले पहिला लाभांश घोषणा गरेपछि मात्रै स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको छ,’ उनले भने, ‘पहिला प्रस्ताव गरेर बीमा प्राधिकरणको स्वीकृति पाएपछि मात्रै घोषणा गर्नुपर्छ । तर, कम्पनीले उल्टो प्रक्रिया अपनायो ।’

कम्पनीले लाभांश प्रस्ताव गरेर प्राधिकरणको स्वीकृतिका लागि आउँदा दिने हो भन्ने प्रश्नमा पौडेलले भने, ‘यो वर्ष कम्पनीले लाभांश बाँड्न पाउँदैन, यस वर्षका लागि ‘च्याप्टर क्लोज’ भयो । अब अर्को आर्थिक वर्ष मात्रै बाँड्न पाउँछ ।’

सिटिजन लाइफले सेयर प्रिमियमबाट प्राप्त रकमबाट बाेनस सेयर वितरण गरी पुँजी ५ अर्ब रूपैयाँ पुर्याउने लागेको थियो ।

यसअघि कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत वितरण गरिसकेको छ । कम्पनीले वार्षिक साधारणसभा पनि गत माघमा नै सम्पन्न गरेको थियो ।

Share News