काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध किसानलाई समयमै डेढ अर्ब रकम भुक्तानी गर्न नसकेको भन्दै माफी मागेको छ ।
संस्थानले आइतबार एक सूचना प्रकाशन गर्दै बजार मागभन्दा धेरै गुणा बढी संकलित कच्चा पदार्थ व्यवस्थापन गर्दा हाल संस्थानमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको धुलो दूध, मक्खन मौज्दात रहेको तथा दुग्ध पदार्थ भण्डारण गर्दा संस्थानको खर्च बढिरहेकाले किसानलाई गर्नुपर्ने भुक्तानीमा ढिलो भई कृषक परिवारमा परेको असहजताप्रति माफी मागेको हो ।
यस्तै, संस्थानले सरकारबाट ऋण, मौज्दात दुग्ध पदार्थ बिक्रीबाट किसानको भुक्तानी सहज गरिने र उत्पादन उच्च हुने आगामी सिजनको दूधलाई व्यवस्थित गरिने प्रतिबद्धता जनाएको छ ।
साथै, संस्थालने बजार खपत बढाएर किसानको भुक्तानी नियम बनाउन दुग्धजन्य पदार्थमा छुटसमेत दिएको जारी सूचनामा उल्लेख छ ।
यस्तै धुलो दूध ६ सय र मक्खन प्रतिकेजी ८ सय रुपैयाँ (करसहित) निर्धारण गरिएको संस्थानले जानकारी दिएको छ ।
स्थानका दैनिक उपभोग्य उत्पादन दूध, दही, चिज, आइसक्रिम, पनिर धुलो दूध, क्रिम, मक्खन, घिउ आदिको खपत बढाइदिन उद्योगी, व्यापारी तथा आम उपभोक्तालाई संस्थानको आग्रह छ ।
यस्तै, संस्थानले अन्तराष्ट्रिय बजार खाेजी गरेर याे समस्याकाे दीघर्कालीन समाधान गरिने पनि जनाएकाे छ ।
