लहलहैमा लगानी, सेयर बजारमा ट्रेडर हावी

<p>काठमाडौं । पुँजीबजारलाई जोखिमको बजारको रूपमा लिइन्छ । यहाँ कमाउने र गुमाउने दुवै हुन्छ । सेयर बजारमा उतारचढाव भइरहन्छ । यस्तो बजारमा नेप्से परिसूचक घट्नु र बढ्नुलाई स्वाभाविक लिइन्छ । तर, कहिलेकाहीं बजारमा अस्वाभाविक घटबढ भइिदिन्छ । एकैदिन ह्वात्तै बढ्नु र अर्कोदिन ठूलो अंकले गिरावट हुनु पुँजीबजारमा सामान्य हो । अझ त्यसभन्दा पनि बढी अस्वाभाविक [&hellip;]</p>

तस्बिर : ग्रोक

काठमाडौं । पुँजीबजारलाई जोखिमको बजारको रूपमा लिइन्छ । यहाँ कमाउने र गुमाउने दुवै हुन्छ । सेयर बजारमा उतारचढाव भइरहन्छ । यस्तो बजारमा नेप्से परिसूचक घट्नु र बढ्नुलाई स्वाभाविक लिइन्छ । तर, कहिलेकाहीं बजारमा अस्वाभाविक घटबढ भइिदिन्छ ।

एकैदिन ह्वात्तै बढ्नु र अर्कोदिन ठूलो अंकले गिरावट हुनु पुँजीबजारमा सामान्य हो । अझ त्यसभन्दा पनि बढी अस्वाभाविक कमजोर वित्तीय अवस्था भएका कम्पनीमा सकारात्मक सर्किट नै लागेर कारोबार भइरहेको हुन्छ भने राम्रा वित्तीय अवस्था र अब्बल मानिएका कम्पनीहरूको सेयरको मूल्य भने बढ्न सकेको हुँदैन ।

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले कुनै पनि कम्पनीले जारी गरेको वित्तीय विवरण, मासिक या त्रैमासिक रूपमा सार्वजनिक गरेका प्रतिवेदनहरू अध्ययन गरेर मात्रै लगानीको निर्णय लिनुपर्छ ।

कुनै पनि कम्पनीको प्रतिसेयर मूल्य, नेटवर्थ, लाभांश वितरणको अवस्था, नाफा/नोक्सान, कम्पनीको सञ्चालन र व्यवस्थापनलगायत हेरेर मात्रै लगानी गर्नुपर्छ भन्ने मान्यता छ । तर, पछिल्लो समय बजार ठीक विपरीत चलेको कारण लगाानीकर्ताले वित्तीय विश्लेषणभन्दा पनि कम्पनीको सेयरमूल्यको आधारमा कारोबार गर्ने प्रवृत्ति बढेर गएको छ ।

सेयर बजारमा देखिएको यस्तो खालको प्रवृत्तिले पछिल्लो समय लगानीकर्ताको सोच नै परिवर्तन भइसकेको छ । अझ भनौं, नेपाली पुँजीबजारमा लगानीकर्ताभन्दा पनि बढी ट्रेडर हाबी हुँदा यस्तो प्रवृत्ति देखिएको पुँजीबजारका जानकारहरू बताउँछन् ।

राम्रो नेटवर्थ नभएका तर बजारमा सेयर मूल्य उच्च रूपमा बढेको कम्पनीमध्ये नेपाल फाइनान्स लिमिटेड एक कम्पनी हो । उक्त कम्पनीको मूल्य २६ सय हाराहारमा पुग्यो । अहिलेको अवस्थामा सेयरमूल्य घट्दो क्रममा रहे पनि अझै पनि धेरै कारोबार गर्ने कम्पनीमध्येमा एनएफएस पर्दै आएको छ ।

केही समयअघि कर्णाली विकास बैंकको सेयरमूल्य त्यसैगरी उच्च रूपले बढेको थियो, जुन बैंकलाई राष्ट्र बैंकले समस्याउन्मुख घोषणा गर्दै थप निक्षेप जम्मा गर्न र कर्जा प्रवाह गर्न रोक लगाइसकेको छ ।

यस्तै, अर्को कम्पनी हो- नारायणी डेभलपमेन्ट बैंक । उक्त कम्पनीको वित्तीय अवस्था हेर्ने हो भने लामो समयदेखि लगानीकर्तालाई लाभांश वितरण गर्न सकेको छैन, वित्तिय अवस्था पनि त्यति बलियो छैन । तर पनि बजारमा त्यही कम्पनीको सेयर मूल्य माथि पुगेको देखिन्छ ।

यी कम्पनीहरू यसका केही उदाहरणमात्रै हुन् । बजारमा यस्ता कम्पनीहरू धेरै छन् जुन वित्तीय रूपमा कमजोर भएपनि लगानीकर्ताको आकर्षणमा पर्दै आएका छन् ।

किन हुन्छ यस्तो ?

जुन कम्पनीहरू वित्तीय रूपमा बलिया छन्, वर्षौंदेखि लगानीकर्तालाई लाभांश र बोनस वितरण गर्दै आइरहेका छन् । ती कम्पनीको मूल्य नबढ्नु तर कमजोर वित्तीय अवस्था भएका कम्पनी उचालिनुको मुख्य कारण बजारको ट्रेन्डमा परिवर्तन आएको पुँजीबजार जानकार देव गुरागाईं बताउँछन् ।

उनका अनुसार पछिल्लो समय बजारमा लगाानीकर्ताभन्दा पनि ट्रेडर हाबी भएको छ । जसले गर्दा वित्तीय विवरण हेरेरभन्दा सेयरमूल्यको आधारमा कारोबार गर्ने प्रवृत्ति बढेर गएको छ ।

गुरागाईंले भने, ‘बजारमा लगानीकर्ताभन्दा ट्रेडर हाबी भयो भने यस्तो हुन्छ । अहिलेको अवस्थामा लगानीकर्ताले पुँजीगत लाभलाई मात्रै हेरेको छ, दीर्घकालीन लगानीको लागि सोच्ने लगानीकर्ता कम छन् ।’

अहिलेको अवस्थामा यस्ता थुप्रै राम्रा मानिएका कम्पनीहरूले लाभांश वितरण गर्न सकेको छैन । त्यसले गर्दा पनि बजारमा ट्रेडर हाबी हुँदै गएको उनको भनाइ छ ।

गुरागाईं बजारको ट्रेन्डअनुसार लगानीकर्ताले पनि आफूलाई ढाल्नुपर्ने विचार राख्छन् ।

‘पुँजीबजारमा लगानी गर्दा राम्रा फण्डामेन्टल भएका कम्पनी हेरेर लगानी गर्ने सिद्धान्त नै हो, तर अहिले बजारको प्रवृत्तिमा परिवर्तन भएको छ । बजारको प्रवृत्तिअनुसार लगानीकर्ताले आफूलाई बदल्नुपर्छ । आफूलाई बजारअनुसार ढाल्न सकेन भने नाफा कमाउन गाह्रो हुन्छ,’ उनी भन्छन् ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा.गोपालप्रसाद भट्ट वित्तीय अवस्था खराब भएका कम्पनीमा लगानी गर्नु लगानीकर्ताकै कमजोरी औंल्याउँछन् । लगानीकर्ता आफै नै अस्वस्थ कम्पनीमा लगानी गर्छ भने त्यसको जिम्मेवारी स्वयं लगानीकर्ताले भोग्नुपर्ने उनले बताए । कुनै कुरा नबुझिकनै अरुको लहैलहैमा लाग्ने लगानीकर्ता यस्ता कम्पनीमा फस्ने उनको भनाइ छ ।

‘बजारमा दुई खालका लगानीकर्ता हुन्छन् । जान्नेबुझ्ने र चलाख लगानीकर्ता जसलाई ‘इन्फर्म’ लगानीकर्ता भनिन्छ । अर्को अरूको लहैलहैमा लागेर सेयर कारोबार गर्ने लगानीकर्ता । त्यस्ता खालका लगानीकर्ताले नै ‘सर्टटम गेन’ गर्ने, बजारलाई म्यानुपुलेट गर्छन् । कमजोर कम्पनीको सेयर मूल्य माथि पुर्‍याउने नै तिनै लगानीकर्ता हुन् ।’

सही कम्पनी छनोट

कुनै पनि कम्पनीको वित्तीय अवस्थाले सम्पत्ति, दायित्व, कारोबारको स्थिति, आयको अवस्था, भविष्यको योजनालगायत विषयलाई जनाउँछ । लगानीकर्ताले प्रतिफललाई हेरेर लगानी गर्ने हो । आज किनेको सेयर भोलि बढोस् भन्ने सबै लगानीकर्ताको चाहना हुन्छ । आफ्नो लगानीबाट प्रतिफल पाउन चाहने लगानीकर्ताले सही कम्पनी छनोट गर्न जान्नुपर्छ ।

राम्रो प्रतिफल त्यही वित्तीय अवस्था बलिया भएका कम्पनीले मात्रै दिने डा. भट्टले बताए । ‘जुन कम्पनीले ग्रोथ गरिरहेको छ, नयाँनयाँ प्रोजेक्ट लिइरहेको छ, नीति, वित्तिय योजना, इन्भेष्टमेन्ट प्लान छ । त्यस्तो कम्पनीमा लगानी गर्दा भोलि डुब्दैन । भविष्यमा लगानीकर्तालाई राम्रो प्रतिफल दिन्छ । त्यस्तो कम्पनी हेरेर लगानी गर्नुपर्छ,’ उनले भने ।

लगानीकर्तालाई कस्तो कम्पनीमा लगानी गर्ने भन्ने सही निर्णय गर्नलाई विवरणपत्रले सहयोग गर्छ । विवरणपत्रकै आधारमा लगानीकर्ताले लगाानीको निर्णय गर्ने हो । विवरणपत्रमा सबै जानकारीहरू सही दिएको हुन्छ भन्ने मानिन्छ । नेपालको सन्दर्भमा केही कम्पनीले गलत विवरण सार्वजनिक गरेका उदाहरण नभएका भने होइनन् ।

नेपालमा केही कम्पनीले म्यानुपुलेट गरेर विवरणपत्र सार्वजनिक गरेका पनि छन् । यसको मतलब सबै कम्पनीको विवरणपत्रले लगाानीकर्तालाई झुक्याउँछ भन्ने पनि होइन । विवरणपत्रलाई नियामक निकाय नेपाल धितोपत्र बार्डले स्वीकृत दिनुअघि राम्रोसँग हेर्नुपर्छ ।

विवरणपत्रमा लगानीकर्ताको उपेक्षा

धेरै लगानीकर्ताले विवरणपत्र लामो हुने हुँदा हेर्न रुचाउँदैनन् । तर डा. भट्ट लगानी गर्नेले झर्को मान्नुभन्दा पुरै विवरण पढ्नुपर्नेमा जोड दिन्छन् । सबै हेर्न सकिएन भनेपनि कम्पनी सञ्चालक, व्यवस्थापन, कम्पनीको नाफा नोक्सान, लाभांश वितरणको इतिहास, भविष्यको योजना, इपीएस, पीई रेशियोजस्ता इन्डिकेटर छुट्याउनै नहुने उनले बताए ।

सबै लगानीकर्ताले विवरणपत्र हेरेर विश्लेषण गर्न सक्छन् भन्ने हुँदैन । पुँजीबजारमा नबुझिकनै लगानी गर्नुभन्दा पोर्टफोलियो म्यानेजमेन्टमा लगानी गर्ने र केही सिकेपछि मात्रै दोस्रो बजारमा आउँदा डुब्ने सम्भावना कम हुने डा. भट्टको तर्क छ ।

‘हल्लाको भरमा नबुझिकन लगानी गर्दा दु:ख पाइन्छ । त्यसलै लगानी गर्नुभन्दा अघि कम्तीमा कस्तो कम्पनीमा लगानी गर्दैछु त्यो कम्पनीको भविष्य के छ ? त्यो कम्पनीले विगतमा कति लाभाश बाँडेको थियो, आगामी योजना के छ ? कम्पनीले कस्तो क्षेत्रमा लगानी गरको छ लगायत विषयमा अध्ययन गरेर लगानी गर्दा सुरक्षित हुन्छ,’ उनले भने ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल कम्पनीले दीर्घकालीन रूपमा दिने प्रतिफल, बोनस सेयर, लाभांश, ग्रोथ, फ्युचर प्लानका कुरा हेरेर लगानी गर्दा भविष्यमा समस्यामा नपर्ने बताउँछन् ।

राम्रा कम्पनीले बाँड्न सकेनन् लाभांश 

पछिल्लो समय राम्रा मानिएका कम्पनीले लाभांश बाँड्न सकेको छैनन् । बाँडेका कम्पनीहरूले पनि विगतका तुलनामा निकै कम लाभांश बाँडिरहेका छन् । अध्यक्ष ढकाल अर्थतन्त्रमा छाएकाे शिथिलताको कारण पछिल्लो समय कम्पनीहरूले लाभांश बाँड्न नसकेको तर्क गर्छन् ।

साथै बलियो कम्पनीमा लगानी गर्दाको परिणाम जस्तोसुकै संकट आउँदा पनि त्यसले दिने लाभांश निरन्तर आइरहन्छ, जसले लगानीकर्ता लाभान्वित हुने अध्यक्ष ढकालको भनाइ छ ।

‘कोभिड-१९ पछि विश्व अर्थतन्त्र शिथिल भएको छ । छिमेकी मुलुक चीन र भारतले अर्थतन्त्रमा वृद्धि गर्न सके पनि नेपालले भने अझै अर्थतन्त्रको चुनौती सामना गरिहेको छ । यसले गर्दा कम्पनीहरूले बाँड्ने लाभांशमा कमी देखिएको छ । तर बलियो कम्पनीले जस्तोसुकै संकटमा लाभांश दिएका छन्, दिनेछन्, ’ उनले भने ।

ढकालका अनुसार लगानीकर्ताले दीर्घकालीन लगानीका लागि युनिलिभर नेपाल, चार्टर्ड बैंक, एभरेष्ट बैंक, सानिमा हाइड्रो, नेपाल टेलिकमलगायत कम्पनीहरू छनोट गर्न सक्छन् । बलियो कम्पनीमा लगानी गर्दा पारदर्शी हुने र लगानीको राम्रो प्रतिफल पाउने हुँदा त्यस्ता कम्पनी छनोट गरेर लगानी गर्न ढकाल सुझाउँछन् ।

Share News