
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को विशेष कार्यक्रमसहित रजत जयन्ती कार्यक्रम सुरु भएको छ ।
शुक्रबार विशेष कार्यक्रमको आयोजना गर्दै इप्पानले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव मनाउन सुरु गरेको हो ।
इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान रजत जयन्ती, २०८१’ भव्यताका साथ मनाउन विभिन्न समितिहरू बनाएर कार्यक्रमको आयोजना गरेको अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
लगानीको हिसाबले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र ५ सयभन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरु सदस्य रहेको ऊर्जा उद्यमीहरूको छाता संस्था इप्पानको यो २५ वर्षे यात्रालाई विशेष स्मरण गराउँदै यस अवधिमा भएका उपलब्धी र प्रगतिहरूलाई प्रस्तुत गर्नको लागि विशेष कार्यक्रमसहित इप्पानको रजत जयन्ती मनाउन लागेको कार्कीको भनाइ छ ।
विसं २०५७ साल माघ ४ गते स्थापना भएको इप्पानले विभिन्न आरोह अवरोह पार गर्दै नेपालको ऊर्जा विकासका लागि महत्त्वपूर्ण २५ वर्ष समर्पित गर्दा देशलाई लोडसेडिङमुक्त मात्र नगरी खुद विद्युत निर्यातकर्ता मुलुक बनाउनमा पनि इप्पानको महत्त्वपूर्ण योगदान रहेको उनी बताउँछन् ।
कार्यक्रमकाे उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । कार्यक्रममा ऊर्जामन्त्री, पूर्वऊर्जामन्त्रीहरू लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ ।
देशव्यापी रूपमा विद्युत उत्पादनसँगै विकास निर्माणका कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएको निजी क्षेत्रको छाता संस्थाको हैसियतमा इप्पानले रजत जयन्तीको अवसर पारेर इप्पानको २५ वर्षको यात्रा समेटिएको ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशन गर्ने र उक्त स्मारिका प्रधानमन्त्रीको हातबाट विमोचन गराउने पनि इप्पानले जनाएको छ ।
सेसनहरूमा ऊर्जाका स्थानीयदेखि संघीयसम्मका समस्या, चुनौती, अवसर, ऊर्जा क्षेत्रको आगामी मार्गचित्र, ऊर्जा नीतिहरू तथा ऊर्जा आयोजनाले सामाजिक तथा आर्थिक क्षेत्रमा पुर्याएको योगदानबारे मन्थन हुने इप्पानले जनाएको छ ।
त्यस्तै, रजत जयन्तीमा विभिन्न कार्यक्रमहरू रहने छन् ।
अध्यक्ष कार्कीले कार्यक्रममा स्वागत गर्दै नेपाललाई सन् २०३५ सम्म २८ हजार ५ सय उत्पादन गर्ने लक्ष्यलाई सरकारले स्वीकृत गरेकोमा प्रधानमन्त्री तथा उर्जा मन्त्रीलाई धन्यवाद ज्ञापन व्यक्त गरे।
उनले भने, ‘हामी खुसी छौं । यो खुसीको क्षण हो । नेपालमा हाल ३५ सय मेगावाटको उर्जा उत्पादन भैइसकेको छ । जसमध्ये २ हजार ७४० मेगावाट निजी क्षेत्रले उत्पादन गरेको छ । अझै आगामी सन् २०३५ सम्ममा २८ हजार ५ सय उत्पादन गर्ने लक्ष्य लिएको छ । यो स्वागतयोग्य रहेको छ ।’
यसले ७ लाखले नेपालीले रोजगारी पाउने पनि उनले बताए ।
उनले स्वागत मन्तव्य कार्यक्रममा प्रधानमन्त्रीलाई बाढीले २१ प्रोजेक्टहरूमा क्षति भएको बताउँदै यी प्रोजेक्टहरुलाई निर्माण पहल गरिदिन आग्रहसमेत गरे । साना प्रोजेक्टहरू बनाउँदै गरेको उनले जानकारी दिए ।