महँगी बढ्यो, विगतको तुलनामा कमजोर वित्तीय सूचक

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को वित्तीय अवस्था सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार चालु आवको ६ महिनाको वित्तीय स्थिति सार्वजनिक गरेको हो । राष्ट्र बैंकका अनुसार २०८१ पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो । [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को वित्तीय अवस्था सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार चालु आवको ६ महिनाको वित्तीय स्थिति सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका अनुसार २०८१ पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७३ प्रतिशत, मधेश प्रदेशको ५.९६ प्रतिशत, बागमती प्रदेशको ५.१४ प्रतिशत, गण्डकी प्रदेशको४.३७ प्रतिशत, लुम्बिनी प्रदेशको ४.८३ प्रतिशत, कर्णाली प्रदेशको ४.६० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.६७ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०३ प्रतिशत, तराईको ५.६० प्रतिशत, पहाडको ५.४१ प्रतिशत र हिमालको ५.२७ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार २०८१ पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.०१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३६ प्रतिशत रहेको थियो ।

रेमिट्यान्समा झिनो वृद्धि

रमिट्यान्स पनि झिनो अंकले बढेको छ । यो अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।

शोधान्तर स्थिति बचतमा रहे पनि घट्यो

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ८२ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको छ ।

सवा २३ खर्ब पुग्याे विदेशी मुद्राकाे सञ्चिति

२०८१ पुस मसान्तमा विदेशी मुद्राको सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई २० खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा २७ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ । २०८१ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

आयात-निर्यात बढ्यो

आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.२ प्रतिशतले कमी आएको थियो ।

आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु आयात ७.१ प्रतिशतले वृद्धि भई ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, ८.९ प्रतिशत र ९.० प्रतिशतले वृद्धि भएको छ ।

Share News