हेलिप्याड र ६ घरले रोकियो सडक निर्माण, सरकार भत्काउने र स्थानीय प्रतिवाद गर्ने रणनीतिमा

<p>कठमाडौं । चीनले निर्माण गरिरहेको हिल्सा-सिमकोट सडकखण्ड अन्तर्गतको मितेरी पुल नजिकैको सडक निर्माणमा सरकारी तथा आवासीय संरचना बाधक बनेका छन् । चीनले ८ महिनामै पुल निर्माण सम्पन्न गरेपनि पहुँच मार्ग निर्माणमा भने सरकारी तथा व्यक्तिगत संरचना बाधक बनेका हुन् । हिल्सा-सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार चीनतर्फको सडक निर्माण भइसकेपनि नेपालतर्फ संरचना रहेको कारण [&hellip;]</p>

कठमाडौं । चीनले निर्माण गरिरहेको हिल्सा-सिमकोट सडकखण्ड अन्तर्गतको मितेरी पुल नजिकैको सडक निर्माणमा सरकारी तथा आवासीय संरचना बाधक बनेका छन् । चीनले ८ महिनामै पुल निर्माण सम्पन्न गरेपनि पहुँच मार्ग निर्माणमा भने सरकारी तथा व्यक्तिगत संरचना बाधक बनेका हुन् ।

हिल्सा-सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार चीनतर्फको सडक निर्माण भइसकेपनि नेपालतर्फ संरचना रहेको कारण निर्माण कार्य रोकिएको छ ।

चीनले लगभग ७० मिटर सडक बनाइसकेको छ । नदीतर्फ आरसीसी रिफिटिङ वाल लगाइएको छ । २ सय मिटरमध्ये १ सय मिटरमा ६ वटा घर, सार्वजनिक शौचालय र हेलीप्याडका कारण निर्माण कार्य अगाडि बढाउन सकिएको छैन । त्यसकारण हिल्साबाट सवारी साधनमार्फत नेपाल-चीन आवतजावत सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ ।

उनका अनुसार ६ वटा घरहरू भत्काएर समस्या समाधान हुँदैन । ‘एक सय मिटरका लागि घर भत्काउन आवश्यक छैन, बरु अन्य विकल्प खोज्नुपर्छ,’ उनले भने ।

उनका अनुसार स्थानीयले घर भत्काउन नदिने योजना बनाएका छन् ।

१४६ मिटर लम्बाइ रहेको मितेरी पुल नेपालतर्फ ५७ मिटर र चीनतर्फ ६३ मिटर रहेको छ । चिनियाँ ठेकेदारले नेपालतर्फ भएका संरचनाका कारण पुलसम्म पहुँचमार्ग निर्माण गर्न बाँकी रहेको बताउँदै संरचना हटाउन आग्रह गर्दै आएको छ ।

उनले चीनले नेपालतर्फ २ सय मिटर एप्रोच रोड ( अप्रोच रोड भनेको मुख्य सडक वा गन्तव्यसम्म पुग्न बनाइएको सहायक वा जडान सडक हो । यो कुनै राजमार्ग, पुल, उडानस्थल वा अन्य महत्वपूर्ण स्थानसम्म सजिलै पहुँच पुर्‍याउने माध्यमको रूपमा प्रयोग गरिन्छ ।) बनाइदिने भनेको जानकारी दिए ।

विकल्प खोजिँदै

हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले सडकमा पर्ने संरचना भत्काउने वा अन्य विकल्प खोज्ने विषयमा छलफल भइरहेको बताए । उनका अनुसार यो विषयमा माथिल्लो तहले निर्णय गर्ने भएकोले माथिको निर्देशनबाटै निर्णय हुने उनको भनाइ छ ।

‘हामीले सर्वदलीय बैठक बसेर यसबारे के गर्ने भनेर भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरेका छौं, यसको निर्णय मन्त्रालयले नै गर्छ,’ उनले भने ।

नेपाल र चीन दुवै देशको सम्झौतामा बनेको मितेरी पुलसम्म पुग्न २ सय मिटर बाटो नेपालतर्फबाट बनाउनुपर्ने जानकारी उनले गरे ।

स्थानीय सरकारले भने संरचना खाली गर्न घरधनीहरुलाई आग्रह गरिरहेको छ । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले आफूहरुले घरधनीलाई आग्रह गरेपनि भत्काउने वा नभत्काउने भन्ने विषयमा छलफल नै भइरहेको जानकारी दिए ।

‘सडक निर्माणका लागि घर नै भत्काउनुपर्ने अवस्था त छैन । तर, चीनियाँ पक्षले हटाउन ताकेता गरिरहेको छ, अब के गर्ने यस विषयमा छलफल हुँदैछ,’ उनले भने ।

सन् २०१९ मा अर्थमन्त्रालयका सचिव र सहसचिवले नेपालतर्फ २ सय मिटर र चीनतर्फ ३ सय मिटर पहिला नै सहमति भएको थियो ।

कर्णाली प्रदेश सरकारले मुगुको नाक्चेलाग्ना, डोल्पाको मोरिल्ला र हुम्लाको हिल्सा नाकालाई ठूलो प्राथमिकतामा राखेको छ । तर, पर्याप्त बजेट विनियोजन नहुँदा काम प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।

खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको १९६ किलोमिटर सडक ट्र्रयाक नेपाली सेनाले खोलिसकेको छ । चीनसँगको सीमा हुम्लाको हिल्सादेखि सलिसल्लासम्मको १४६ किलोमिटर हिल्सा-हुम्ला सडक आयोजनाबाट काम भइरहेको छ ।

उक्त सडकखण्डको काम पनि तीव्र रूपमा भइरहेको आयोजना प्रमुख नेपालीले बताए । तर, कर्णाली नदीमाथि पुल बन्न नसक्दा हुम्ला सदरमुकामसम्म सडक पु¥याउन नसकिएको उनको भनाइ छ ।

गत मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका नेपाल र चीनबीच ‘बेल्ट एण्ड रोड इनिसियटीभ’ (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हिल्सा–सिमकोट सडक परियोजनामा सम्झौता भएको थियो । यो सम्झौताले सो सडक खण्डको काम अगाडि बढ्ने अपेक्षा धेरैको छ ।

हिल्सा-सिमकोट सडक : आर्थिक विकासको मेरुदण्डदेखि उत्तर-दक्षिणको मध्यस्थतासम्म

Share News