रातो बंगलाले सवा एक अर्ब लगानीमा बिल्डिङ बनाउँदै, आम्दानी निरन्तर बढ्दै

काठमाडौं । सन् १९९२ बाट सञ्चालनमा आएको रातो बंगला स्कुल पछिल्लो समय निरन्तर आम्दानी बढाउँदै गएको छ । ललितपुरको पाटन ढोकामा अवस्थित रातो बंगलाको सुरुवात १६ जना विद्यार्थीबाट सुरू भएको हो । सुरुवातमा कक्षा तीन र चारबाट पढाउन सुरु गरिएको यो स्कुलमा अहिले १२ कक्षासम्म पढाइ हुन्छ ।

स्कुलको सञ्चालन आम्दानी बढ्दै गएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । गत वर्ष (सन् २०२४) मा रातो बंगलाले ६७ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

सन् २०२३ मा ५५ करोड ९० लाख, सन् २०२२ मा ४१ करोड ३० लाख, २०२१ मा २८ करोड ४० लाख र २०२० मा ३६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । स्कुलको आम्दानी निरन्तर बढ्दै गएको देखिन्छ । पछिल्लो पाँच वर्षमा स्कुलको आम्दानी ८४ प्रतिशत बढेको छ । 

रातो बंगलाकी अध्यक्ष शान्ता दिक्षितले सुरुमा आफ्नो घरको कोठाबाट विद्यालय सञ्चालन गरेकी थिइन । १६ जना बच्चा पढाएर सुरू गरेको विद्यालयका अहिले करिब १ हजार ५० जना विद्यार्थी छन् ।

स्कुलले सन् २००४ देखि क्याम्ब्रिज इन्टरनेशनल एजुकेशनको ‘ए’ लेभल कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । ‘ए’ लेभल कक्षाका लागि नयाँ भवन निर्माण थालेको स्कुलले जानकारी दिएको छ । सो भवनका लागि एक अर्ब २० करोड रुपैयाँ लगानी लाग्ने बताइएको छ । 

त्यसका लागि स्कुलले ६७ प्रतिशत बैंकको ऋण र बाँकी ३३ प्रतिशत स्वपुँजी (इक्विटी) हुने लगानी लगानी संरचना तयार पारेको छ । स्कुलले ८० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । 

सम्बन्धित सामग्री : 

घरको कोठा र १६ विद्यार्थीबाट सुरु भएको रातो बंगाला : सबैको रोजाइ, देशकै महँगो

Share News