वीरगञ्ज नाका :  एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब नौ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।

समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने एक अर्ब छ करोड रुपैयाँले घटेको छ । सो अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि सोबाट प्राप्त हुने राजस्व भने ११ दशमलव ६६ प्रतिशत अर्थात् सात अर्ब ६४ करोड रुपैयाँले बढेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार कार्यालयले चालु आवको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट भएको छ । यहाँको राजस्व पेट्रोलियम पदार्थको आयात र  सवारीसाधनको आयातमा निर्भर रहेको छ । 

चालु आवको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले ७३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । जबकि गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट ६५ अर्ब ५४ करोड रुपैयाँ संकलन भएको छ । 

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको जेठ मसान्तसम्म ८९ अर्ब ७६ करोड रुपैयाँ मूल्य पर्ने १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयात भएको छ । गत आवको सोही अवधिमा भने ९३ अर्ब ६३ करोड रुपैयाँ मूल्य पर्ने नौ लाख २१ हजार २७५ किलोलिटर डिजेलको आयात भएको छ । डिजेल आयातबापत कार्यालयले ४१ अर्ब तीन करोड रुपैयाँ राजस्व संकलन गरेको छभने गत आवको सोही अवधिमा भने  ३६ अर्ब चार करोड रुपैयाँ संकलन गरेको थियो ।

त्यसैगरी, चालु आवको ११ महिनामा ३५ अर्ब ३४ करोड को चार लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकि गत आवको ११ महिनामा ३६ अर्ब चार करोडको तीन लाख ६१ हजार ७२७ किलोलिटर पेट्रोलको आयात भएको छ । पेट्रोल आयातबाट कार्यालयले २३ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गर्यो भने गत आवको सोही अवधिमा २० अर्ब ७३ करोड रुपैयाँ संकलन गरेको छ । 

यो नाका हुँदै चालु आवको ११ महिनामा ३३ अर्ब ३५ करोडको २९ करोड १४ लाख २० हजार २०९ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकि गत आवको सोही अवधिमा २७ अर्ब ७१ करोडको २५ करोड ७९ लाख ३८ हजार ९७६ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । ग्यास आयातबापत रु छ अर्ब  २४ करोड राजस्व संकलन गर्यो भने गत आवको सोही अवधिमा ग्यास आयातबाट पाँच अर्ब १६ करोड रुपैयाँ संकलनगरेको छ ।

वीरगञ्ज नाका हुँदै चालु आवको ११ महिनामा १५ अर्ब तीन करोड रुपैयाँ मूल्यको एक लाख ६७ हजार ३९८ किलोलिटर एटिएफ आयात भएको छ । जबकि गत आवको ११ महिनामा भने १७ अर्ब ११ करोड रुपैयाँ मूल्यको एक लाख ६१ हजार ८९२ किलोलिटर एटिएफ आयात भएको छ । एटिएफ आयातबापत दुई अर्ब ३५ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । जबकि गत आवको सोही अवधिमा दुई अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । 

यो नाका हुँदै  चालु आवको ११ महिनामा रु ५९ करोड मूल्य पर्ने छ हजार ७३० किलोलिटर मट्टितेल आयात भएको छ । गत आवको सोही अवधिमा भने ६३ करोड मूल्यको छ हजार १२० किलोलिटर मट्टितेल आयात भएको छ । मट्टितेल आयातबाट १६ करोड रुपैयाँ राजस्व संकलन गर्यो भने गत आवको सोही अवधिमा १६ करोड रुपैयाँ नै राजस्व संकलन गरेको थियो ।

Share News