काठमाडौं । गृहमन्त्री रमेश लेखकले कानूनमा खराब व्यवस्था आउँछन् भन्ने आशंका नगर्न आम नागरिकहरूलाई आग्रह गरेका छन् ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् अन्तर्गतको विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले यस्तो आग्रह गरेका हुन् ।
उनले बैठकमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारणसम्बन्धी कानून गरी पाँचवटा विधेयकमा संशोधन प्रस्ताव प्रस्तुत भएको जानकारी दिए ।
गृहमन्त्री लेखकका अनुसार, बहुविवाहसम्बन्धी व्यवस्था, विवाहको उमेर, अग्रिम जमानत, राष्ट्रपतिको सिफारिसमा हुने सजाय माफी, मुल्तवी वा परिवर्तन जस्ता विषयमा थप छलफल र परिमार्जन आवश्यक रहेको निष्कर्षमा समिति पुगेको हो ।
बैठकले ती संवेदनशील विषयमा थप अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ । उक्त उपसमितिले सम्बन्धित मन्त्रालयहरू, कानून आयोग, महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय गरी संशोधन तथा परिमार्जनको प्रक्रिया अघि बढाउने बताइएको छ ।
गृहमन्त्री लेखकले भने, 'नागरिकको चासोलाई विधेयक समितिले सम्बोधन गरेर संशोधन गर्छ । कानूनमा खराब कुरा आउँछन् भन्ने आशंका नगर्नुस् । यो प्रक्रिया जनताको हितमा अघि बढ्छ ।'