रेयर अर्थमा विश्व राजनीति : चीनको प्रभुत्व, अमेरिकाको चिन्ता र भारतको रणनीति

काठमाडौं । नोभेम्बरमा चीनबाट अमेरिकातर्फ हुने दुर्लभ पृथ्वी चुम्बक (रेयर अर्थ म्याग्नेट) को निर्यात अक्टोबरको तुलनामा ११ प्रतिशतले घटेको छ । यस्तो गिरावट त्यतिबेला आएको हो, जब विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार युद्ध केही नरम बन्दै गएको बताइएको थियो ।

चिनियाँ भन्सार तथ्यांकअनुसार अमेरिकातर्फ पठाइने रेयर अर्थ चुम्बकको ढुवानी अक्टोबरमा ६५६ टनबाट घटेर करिब ५८२ टनमा सीमित भयो । यद्यपि अर्को एउटा रिपोर्टअनुसार सबै दुर्लभ–पृथ्वी उत्पादनहरूको बिक्री अघिल्लो महिनाको तुलनामा वृद्धि भएको छ । जसमा चुम्बक प्रमुख छन् ।

रेयर अर्थ चुम्बकहरू सैन्य उपकरणदेखि लिएर विद्युतीय कारसम्ममा प्रयोग हुन्छन् । यस वर्ष अमेरिका–चीन व्यापार युद्धका क्रममा यी चुम्बक चीनको शक्तिशाली हतियार बनेका थिए । 

अप्रिलमा बेइजिङले निर्यात नियम कडा पारेपछि अमेरिकातर्फ पठाइने चुम्बकको ढुवानी ५० टनभन्दा पनि कममा झरेको थियो । यसले विश्वभर तीव्र अभावको आशंका पैदा गरेको थियो । वर्षभरि तनाव पटक–पटक बढ्यो र केही समय शान्त पनि रह्यो । तर अहिले निर्यात फेरि सामान्य स्तरमा फर्किएको छ ।

यसैबीच अन्य देशहरूले पनि रेयर अर्थ क्षेत्रमा आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका छन् । कजाकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र तुर्कमेनिस्तानले हालै एउटा बैठक सम्पन्न गरेका छन् । मध्य एसियाका यी पाँच देशसँग सुन, दुर्लभ–पृथ्वी तत्व र युरेनियमजस्ता विशाल खनिज स्रोत छन् । रूस, चीन, दक्षिण एसिया र मध्यपूर्वबीचको भौगोलिक अवस्थाले यी देशहरूलाई पूर्वाधार र व्यापारका लागि रणनीतिक बाटो बनाएको छ ।

दुर्लभ पृथ्वी तत्व १७ वटा तत्वहरूको समूह हो । यी वस्तुलाई ‘दुर्लभ’ भनिनुको कारण पृथ्वीमा कम पाइने भएकाले होइन (वास्तवमा यी प्रशस्त मात्रामा उपलब्ध छन्) । बरु, यी तत्वहरूलाई शुद्ध रूपमा निकाल्न र प्रशोधन गर्न अत्यन्तै कठिन, महँगो र वातावरणीय रूपमा जटिल हुने भएकाले यस्तो नाम दिइएको हो । 

यी तत्वहरू प्रायः मिसिएको अवस्थामा पाइन्छन् र छुट्याउनु ठूलो चुनौती हुन्छ । यस क्षेत्रमा चीनको प्रभुत्व छ । आधुनिक प्रविधिका लागि यी तत्व अत्यन्त महत्त्वपूर्ण छन् । स्मार्टफोन, कम्प्युटर, विद्युतीय सवारी, पवन टर्बाइन र रक्षा उपकरणलगायत धेरै उत्पादनमा यसको प्रयोग हुन्छ । चीन विश्वकै सबैभन्दा ठूलो दुर्लभ पृथ्वी उत्पादक हो । अमेरिकासहित धेरै देश आपूर्तिका लागि चीनमा अत्यधिक निर्भर छन् ।

व्यापार युद्धका क्रममा चीनले निर्यातमा प्रतिबन्ध लगाउने धम्की दिएपछि अमेरिका र अन्य देशहरूलाई रेयर अर्थका वैकल्पिक स्रोत खोज्न प्रेरित गरेको छ । मध्य एसियाली देशहरूको पहल यस दिशामा महत्त्वपूर्ण विकास हुन सक्छ । ती देशहरूसँग रहेका खनिज भण्डार र रणनीतिक अवस्थाले उनीहरूलाई रेयर अर्थ आपूर्ति शृंखलामा महत्त्वपूर्ण खेलाडी बनाउन सक्छ ।

भारतले पनि ‘रेयर अर्थ’ क्षेत्रमा चीनको वर्चस्वलाई चुनौती दिन र आत्मनिर्भर बन्न हालै आफ्नो रणनीति तीव्र बनाएको छ । राष्ट्रिय महत्त्वपूर्ण खनिज मिसनअन्तर्गत खनिज विदेश इन्डिया लिमिटेड स्थापना गरिएको छ । यसको मुख्य उद्देश्य विदेश—विशेषगरी अष्ट्रेलिया र दक्षिण अमेरिका (जस्तै अर्जेन्टिना र चिली)– मा रेयर अर्थ र लिथियमजस्ता महत्वपूर्ण खनिज स्रोत पहिचान गर्नु र त्यहाँ खनन अधिकार हासिल गर्नु हो । 

भण्डारका हिसाबले भारत विश्वमा पाँचौं स्थानमा पर्छ । तर प्रशोधन प्रविधिको अभावका कारण आवश्यकताका लागि अझै पनि चीनमा धेरै हदसम्म निर्भर छ । भारतसँग विश्वको करिब ६ प्रतिशत रेयर अर्थ भण्डार छ, जुन मुख्यतः तटीय राज्यहरू (ओडिशा, केरल, तमिलनाडु) का बालुवामा पाइन्छ ।

अदालतको एक फैसलाले मस्क मालामाल, नेटवर्थ ७०० अर्ब डलर पार गर्ने पहिलो व्यक्ति

Share News