‘हामी जेठानी–देउरानी सधैं सुख बाँड्दै आएका थियौं, आज दुःख पनि बाँडेका छौं । सुखमात्र होइन, दुःख पनि बाँड्न सकिँदो रहेछ,’ पोखरा–हेम्जाकी सुनिता खड्काले भनिन् ।
सुनिता जसले आफ्नो कलेजोको एक टुक्रा दान गरेर आफ्नी जेठानी गंगाकुमारी थापा कुँवरको जीवन जोगाइन् । आफ्नो कारण जेठानी, जेठाजुलगायत परिवारमा सबैको मुहारमा हाँसो देख्न पाउँदा आफै भाग्यमानी भएको अनुभूति गर्छिन् सुनिता ।
माघ ४ गते नेपाल मेडिसिटी अस्पतालमा गंगाको सफल कलेजो प्रत्यारोपण भयो । हाल दुवैको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ ।
बिहीबार सुनिता जेठानीको फलोअपसँगै आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि नेपाल मेडिसिटी अस्पताल पुगेकी थिइन् । अस्पतालको करिडोरमा हिँड्दा उनको अनुहारमा थकानभन्दा बढी सन्तोष झल्किन्थ्यो ।
‘अहिले म शारीरिक रूपमा एकदमै ठीक छु,’ विकासन्युजसँग कुरा गर्दै उनी भन्छिन्, ‘तर डाक्टरले केही समय पूर्ण आराम गर्नुपर्ने भनेका छन् । त्यसैले दिदीसँगै काठमाडौंमा बसेकी छु । बेलाबेलामा अस्पताल आएर जाँच गराउनुपर्छ ।’
यस घटनाले देउरानी–जेठानीको सम्बन्ध केवल परम्परागत धारणा मात्र नभई माया, विश्वास र त्यागले भरिएको गहिरो बन्धन पनि रहेको देखिन्छ ।

नेपाली समाजमा देउरानी–जेठानीको सम्बन्ध निकै कम मात्रामा प्रगाढ भएको देखिन्छ । दुईबीच आपसी मनमुटाव, दूरी र असमझदारीको उदाहरण धेरै सुनिन्छ । तर सबै सम्बन्ध एउटै हुँदैनन् भन्ने कुरा गंगा र सुनिताको सम्बन्धले प्रमाणित गरेको छ ।
गंगाको स्वास्थ्यमा समस्या देखिँदा परिवारका अन्य सदस्यले पनि सहयोगी भावना नदेखाएका होइनन् । बुहारी, दिदी सबैजनाको जाँच गर्दा बिरामीसँग मेल खाएन तर सुनितासँग मेल खायो ।
सुनिता भन्छिन्, ‘भाग्यले नै होला, सबैको जाँच गर्दा दिदीसँग केही मिलेन, मेरो रगतदेखि सबैकुरा मेल खान गयो । घर परिवारबाट साथ पाएपछि ममा पनि आँट पलायो ।’
पोखराको हेम्जाकी ४८ वर्षीया गंगाकुमारी कुँवर लामो समयदेखि जन्डिसबाट पीडित थिइन् । विभिन्न अस्पतालमा उपचार गर्दा पनि रोग निको भएन । पोखरा, काठमाडौंका अस्पताल चहार्दौ गर्दा निको नभएपछि उनलाई ललितपुरको भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा पुर्याइयो ।
अस्पताल पुग्दा उनमा जन्डिसको मात्रा २५ पुगेको थियो भने पेट फुल्ने, पेटमा पानी जम्ने, हातखुट्टा सुन्निने समस्या देखा परिसकेको थियो । उनलाई खाना मन नलाग्ने र हिँड्न गाह्रो हुने जस्ता गम्भीर लक्षण देखिएका थिए ।

चिकित्सकीय परीक्षणपछि उनलाई अटो इम्युन हेपाटाइटिस भएको पत्ता लाग्यो, जसका कारण लिभर सिरोसिस भई कलेजो बिग्रिसकेको थियो ।
कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.रामबाबु शाहका अनुसार बिरामीमा अत्यधिक जन्डिस, लिभर फङ्सन टेस्ट असन्तुलित र पेटमा पानी जमेको थियो । यस्तो अवस्थापछि अस्पतालले तत्काल लिभर प्रत्यारोपण आवश्यक रहेको निष्कर्ष निकाल्यो।
गंगाका परिवारलाई कलेजो दिने व्यक्तिको व्यवस्था गर्न भनियो । सुरुमा गंगाका दिदी, श्रीमान् र बुहारीको परीक्षण गरिएको भए पनि मेल नखाएपछि देउरानी सुनीताको परीक्षण गर्दा उनको रगतदेखि सबै कुरा मिल्न गयो । कलेजो दान गर्न मन भए पनि सुरुमा सुनितालाई निकै डर लागेको थियो । आफ्नो छाला चिरेर कलेजो निकाल्दा मलाई पो केही हुने हो कि भन्ने उनको मनमा थियो । तर उनको श्रीमान, छोरा माइतीपट्टीका आमाबुवा सबैले पूण्यको काम भनेपछि सुनिता पनि तयार भइन् ।
‘सुरुमा त मलाई पनि डर लाग्यो नि, के हुन्छ कसो हुन्छ भन्ने भयो तर सबैले हौसला दिएपछि डर हरायो । त्यसपछि जे-जे अस्पतालले भन्यो, त्यो सबै गरियो, अहिले म पनि ठीक छु, दिदी पनि ठीक हुनुहुन्छ,’ सुनिताले भनिन् ।
प्रत्यारोपणपछि दाता सुनिता ८ दिनमा र जेठानी गंगा १५ दिनमा डिस्चार्ज भए । हाल दुवै फलोअपमा छन् ।

नेपाल मिडिसिटी अस्पतालको कलेजो प्रत्यारोपण क्षेत्रमा कार्यरत शल्यचिकित्सक डा.रामबाबु शाह यो पारिवारिक बन्धन र चिकित्सा विज्ञानको उल्लेखनीय उदाहरण रहेको बताउँछन् । उनी यो घटनाले देउरानी–जेठानीबीच पनि गहिरो माया, त्याग र विश्वास हुन सक्छ भन्ने सन्देश समाजमा प्रवाह गरेको बताउँछन् ।
नेपार र भातका विभिन्न अस्पतालमा काम गरेका उनले दिदीले भाइ–बहिनी, छोराले आमा, आमाले छोराछोरीलाई अंगदान गरेर ज्यान जोगाएको देखे पनि देउरानीले जेठानीलाई अंग दान गरेको पहिलो पटक देखेको बताउँछन् ।
शाह भन्छन्, ‘मैले भक्तपुरमा रहेको शहिद धर्मभक्त अस्पतालमा २० वटा कलेजो प्रत्यारोपण गरेको थिएँ, त्यो बेला ज्वाइँले सासूलाई कलेजो दिएको देखेको थिएँ । भारतको अपोलोमा पनि चार वर्ष काम गरेँ तर त्यहाँ देउरानीले जेठानीलाई अंग दिएकोे देख्न पाइएन । यस्तो केस पहिलो पटक देखेको हुँ ।’
शाह देउरानीले जेठानीलाई पुनर्जन्म नै दिएको उल्लेख गर्दै यस घटनाले समाजलाई नयाँ सन्देश दिएको बताउँछन् । ‘हाम्रो समाजमा देउरानी–जेठानीको सम्बन्धलाई राम्रो नजरले हेरिँदैन । यो घटनाले सकारात्मक सन्देश दिने उनको भनाइ छ ।
नेपाल मेडिसिटीको हेपाटो–प्यान्क्रियाटो–बिलियरी तथा लिभर ट्रान्सप्लान्ट युनिटका प्रमुख डा.उमिदकुमार श्रेष्ठले कलेजो बिग्रिनुको कारण केवल मदिरा सेवन मात्र नभई जन्डिस तथा पहिचान नभएका रोगहरूले पनि गम्भीर क्षति पुर्याउने बताए ।
फ्याटी लिभरले पनि समयमै उपचार नपाएमा कलेजो बिगार्न सक्ने भएकाले प्रारम्भिक पहिचानले गम्भीर क्षतिबाट जोगाउन सक्ने उनको भनाइ छ ।