काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री केन्द्र र चिकित्सा शिक्षा आयोगको स्थलगत अवलोकन गरी ती निकायहरूको कार्यसम्पादनबारे विस्तृत जानकारी लिएका छन् ।
जनक शिक्षा सामग्री केन्द्रको अवलोकन गर्दै उनले आगामी शैक्षिक सत्रका लागि आवश्यक पाठ्यपुस्तकहरू समयमै छपाइ गरी विद्यार्थीको हातमा पुर्याउन कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।
पुस्तक अभावका कारण विद्यार्थीको पढाइ प्रभावित हुन नदिन आवश्यक व्यवस्थापकीय सुधार र समन्वय गर्न मन्त्री पाेखरेलले कर्मचारीहरूलाई सचेतसमेत गराए ।
त्यस्तै, चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूसँगको छलफलमा मन्त्री पोखरेलले कैलालीको गेटास्थित दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालयको विषयमा विशेष चासो व्यक्त गरे ।
भौतिक पूर्वाधार तयार भए पनि कानुनी जटिलताका कारण पढाइ सुरु हुन नसकेको भए ती अड्चनहरू फुकाउन आवश्यक समन्वय गर्न उनको निर्देशन छ ।
सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य शिक्षामा महत्त्वपूर्ण मानिएको यस परियोजनालाई चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउन आयोगलाई सक्रिय भूमिका खेल्नसमेत उनले आग्रह गरेका छन् ।
अवलोकनका क्रममा मन्त्री पोखरेलले सरकारी निकायहरूको कार्यसम्पादन चुस्त र पारदर्शी हुनुपर्नेमा जोड दिँदै मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।