के अब बैंक र बीमा कम्पनीमा पनि दुई दिन बन्द हुन्छ ?

काठमाडौं । सरकारले सरकारी कार्यालय, स्कुल/कलेजका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कलेज, स्कुल तथा कलेजहरूमा आइतबार र शनिबार विदा दिने निर्णय गरेको हो । 

सरकारले योसँगै अबदेखि सकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारको यो निर्णयसँगै बैंक तथा वित्तीय क्षेत्र र बीमा क्षेत्रमा पनि चासो बढेको छ । 

अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पनि दुई दिन बन्द हुन्छन् वा हुँदैनन् भन्ने चासो बढेको छ । यो जिज्ञासामा हामीले राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेललाई राखेका थियौं ।

उनले सरकारी कार्यालय भनेकोले स्वभावैतः राष्ट्र बैंक दुई दिन बन्द हुने बताए । ‘अब राष्ट्र बैंक दुई दिन बन्द हुने नै भयो । राष्ट्र बैंकको नियमनभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरू राष्ट्र बैंक खोल्दा अनिवार्य खुल्नुपर्छ । तर, नेपाल राष्ट्र बैंक बन्द हुँदा ती संस्थालाई ऐच्छिक छ । तर, सबैको चासोको विषय र पेट्रोलियम पदार्थको अभाव व्यवस्थापन भएकोले सीमित बैंकिङ सेवा दिनेगरी परिपत्र गर्छौं गर्छौं,’ उनले भने ।

उनका अनुसार के कसरी व्यवस्थापन गर्ने विषय भने मन्त्रिपरिषद् बैठकको निर्णय अर्थमन्त्रालयमार्फत् आएपछि जानकारी हुनेछ । कतिपय बैंकले सातै दिन र २४ सै घण्टा सेवा भनेकाले डिजिटल तथा सीमित शाखा सञ्चालन गरेर सेवा दिन सकिने उनको भनाइ छ ।

यस्तै, बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले पनि अर्थमन्त्रालयबाट निर्देशनसहितको पत्र नआइसकेकोले अहिले भन्न सकिने अवस्था नभएको बताएको छ ।

प्राधिकरणकी प्रवक्ता पुजन ढुङ्गेलले अर्थमन्त्रालयबाट पत्र नआइसकेकोले के गर्ने कसरी अगाडि बढ्ने भन्ने विषय अहिले निर्णय नभइसकेको बताइन् । यद्यपि, प्राधिकरण भने दुई दिन बन्द नै हुनेछ । प्राधिकरण बन्द भएपनि बीमा कम्पनीहरू पनि सीमित शाखाबाट सेवा दिने गरी सञ्चालन हुन सक्नेछन् । 

Share News