एडीबीसँग ११५ मिलियन डलर ऋण लिन वार्ता टोली गठन

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण परियोजनाका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने निर्णय गरेको छ ।

बैठकले इन्टिग्रेटेड वाटर सप्लाई एण्ड सेवरज म्यानेजमेन्ट सेक्टर प्रोजेक्ट कार्यान्वयनका लागि एशियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय सम्झौता र अन्य आवश्यक कागजातलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

सरकारले अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा उक्त वार्ता टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उक्त टोलीले एडीबीसँग ऋण सम्झौताका प्राविधिक तथा वित्तीय पक्षमा अन्तिम सहमति जुटाउनेछ।

यस परियोजनामार्फत देशका विभिन्न क्षेत्रमा खानेपानी आपूर्ति र ढल व्यवस्थापन प्रणाली सुधार गर्ने लक्ष्य राखिएको उनको भनाइ छ।

Share News