काठमाडौं । काठमाडौंका विभिन्न नदी किनारका सुकुम्बासी बस्ती हटाएपछि घरजग्गा नभएका पीडितहरूको विवरण संकलन गर्ने क्रम तीव्र पारिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा पाँचवटा बस्तीमा डोजर चलाइएपछि विस्थापित भएकाहरूमध्ये सोमबार अपराह्नसम्म ८९१ परिवारका ३ हजार ७९२ जनाले दशरथ रंगशाला पुगेर आफ्नो विवरण टिपाएका छन् ।
आफ्नो आयस्रोत र ओत लाग्ने ठाउँ नभएको भन्दै सरकारको सम्पर्कमा आउनेहरूको संख्या बढ्दै गएपछि हाल उनीहरूलाई कीर्तिपुर र विभिन्न होटलहरूमा राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्पर्कमा आएका व्यक्तिहरूमध्ये को वास्तविक सुकुम्बासी हुन् र को होइनन् भन्ने विषयमा सरकारले १५ दिनभित्र पहिचान गरिसक्ने लक्ष्य लिएको छ ।
छानबिनपछि वास्तविक पीडित ठहरिएका परिवारलाई अस्थायी रूपमा नागार्जुनस्थित सरकारी अपार्टमेन्टमा राख्ने तयारी गरिएको छ ।
सरकारले तत्कालका लागि थप नयाँ बस्तीहरू नभत्काउने र हाललाई नदी किनारका जोखिमपूर्ण क्षेत्रहरू मात्र खाली गरिएको स्पष्ट पारेको छ ।
विस्थापितहरूको दीर्घकालीन व्यवस्थापनका लागि पहिचान प्रक्रिया सकिएलगत्तै ठोस कदम चालिने सञ्चार विज्ञ दीपा दाहालले जानकारी दिइन्।