काठमाडौं । काठमाडौं जिल्ला अदालतले प्रख्यात व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
सोमबार न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई उक्त म्याद थपको अनुमति दिएको हो ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३ मा गोल्छाको नाम पनि समावेश भएपछि उनी अनुसन्धानको घेरामा परेका हुन् ।
प्रतिवेदनमा भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत गरिएको कारोबारमा दीपक भट्टलाई सहयोग गर्ने क्रममा गोल्छासहित विभिन्न कम्पनीहरूको रकम प्रयोग भएको उल्लेख छ ।
सीआईबीले गोल्छालाई गत वैशाख १० गते नक्सालबाट नियन्त्रणमा लिएको थियो ।
धितोपत्र सम्बन्धी विवाद सार्वजनिक भएलगत्तै उनले फागुन २५ गते हिमालय रि-इन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।