काठमाडौं । नीभ कर्पोरेशन लिमिटेडले सर्वसाधारणका लागि प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरका २५ लाख कित्ता साधारण सेयर (आइपीओ) सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
यस सम्बन्धमा बुधबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतापत्रमा नीभ कर्पोरेशन लिमिटेडका अध्यक्ष यज्ञमूर्ति न्यौपाने तथा ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरेका हुन् ।
वि.सं. २०७६ सालमा स्थापना भएको नीभ कर्पोरेशन लिमिटेड नेपालको कृषि तथा पर्यटन क्षेत्रमा आधुनिक, दिगो तथा स्थानीय पहिचानमा आधारित व्यवसाय सञ्चालन गर्ने उद्देश्यसहित अघि बढिरहेको कम्पनी हो । कम्पनीको केन्द्रीय कार्यालय तुलसीपुर, दाङमा रहेको छ भने सम्पर्क कार्यालय सोल्टीमोड, काठमाडौंमा छ ।
कम्पनीले हाल दाङ, नेपालगञ्ज र सुर्खेतलगायत क्षेत्रमा स्थानीय संस्कृति, स्वाद, भेषभूषा तथा परिवेशलाई समेटेर होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको जनाएको छ ।
कम्पनीले आतिथ्यता, कृषि र पर्यटनलाई समेट्ने एकीकृत अवधारणाअनुसार पूर्वको इलामदेखि कर्णाली तथा सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रसम्म २० भन्दा बढी स्थानमा व्यवसाय विस्तार गर्ने लक्ष्य लिएको छ ।
होटल तथा पर्यटन क्षेत्रमा स्थानीय मौलिकता, संस्कृति संरक्षण, आतिथ्य सत्कार तथा परम्परागत स्वादको प्रवर्द्धनमार्फत आन्तरिक तथा बाह्य पर्यटनलाई प्रोत्साहन गर्ने कम्पनीको योजना छ । यस्तै, कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय कृषि उपज उत्पादन, भण्डारण, प्रशोधन तथा बजारीकरणका साथै कृषि पर्यटन विकासमा समेत जोड दिइएको कम्पनीले जनाएको छ ।