बीपी राजमार्ग र हिल्सा-सिमकोट सडक खण्ड बन्द

काठमाडौं । सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक-सिन्धुलीस्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा-सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

प्रहरीका अनुसार वैशाख २१ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा चल्ने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको हो ।

यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका-२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा-सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ । च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म उक्त सडक खण्डमा यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ ।

Share News