काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (इभी) को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय भइरहेका टिप्पणी, चर्चा र व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ध्यानाकर्षण जनाएको छ ।
नाइमाले यस विषयलाई यसअघि अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँगको छलफलमा समेत उठाउँदै इभी मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्याङ्कनमा स्पष्ट, व्यवहारिक र एकरुप व्यवस्था आवश्यक रहेको धारणा राखेको जनाएको छ ।
नाइमाका अनुसार नेपालमा आयात भइरहेका विद्युतीय सवारी साधनहरू अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरणका आधारमा भित्रिने गरेका छन् । एउटै मोडलका सवारी साधन विभिन्न देश तथा नियामकीय संरचनाअनुसार फरक–फरक स्पेसिफिकेशनमा उत्पादन हुनु अन्तर्राष्ट्रिय अभ्यास भएको भन्दै केवल वेबसाइट वा बाह्य जानकारीका आधारमा मोटर क्षमताबारे निष्कर्ष निकाल्नु प्राविधिक रूपमा विश्वसनीय नहुने उल्लेख गरिएको छ ।
हाल नेपालमा इभी सवारीसँग सम्बन्धित मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली र एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा नआएकाले विभिन्न तहमा भ्रम र अन्योल उत्पन्न भएको नाइमाको भनाइ छ ।
संस्थाले इभी सवारीको प्राविधिक मूल्याङ्कन आधिकारिक उत्पादक कम्पनीका प्रमाणित विवरण, अन्तर्राष्ट्रिय परीक्षण निकायका प्रमाणपत्र तथा स्थापित मापदण्डका आधारमा गर्नुपर्नेमा जोड दिएको छ । साथै, सरकारी निकायबीच एकरुप व्याख्या र कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट कार्यविधि, परीक्षण पूर्वाधार र प्रमाणीकरण प्रणाली तत्काल विकास गर्न आग्रह गरिएको छ ।
नाइमाले विद्युतीय सवारीलाई स्वच्छ ऊर्जा उपयोग, दिगो यातायात प्रणाली विकास र हरित अर्थतन्त्र प्रवर्द्धनको महत्वपूर्ण माध्यमका रूपमा उल्लेख गरेको छ । इभी क्षेत्रको विस्तारले ऊर्जा उपयोग, वातावरण संरक्षण र दीर्घकालीन दिगोपनामा सकारात्मक योगदान पुर्याउने विश्वास संस्थाको छ ।
यसैगरी, प्राविधिक तथा नीतिगत विषयमा अपुष्ट सूचना र फरक–फरक व्याख्याले बजारमा अन्योल सिर्जना गर्ने, उपभोक्ता विश्वास घटाउने र लगानी वातावरणमा असर पार्ने भएकाले तथ्य र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा मात्र विश्लेषण गर्न नाइमाले आग्रह गरेको छ ।
नाइमाले सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै स्पष्ट, पारदर्शी र व्यवहारिक प्राविधिक प्रणाली विकासमा रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।
नाइमा नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा संस्था हो, जसले 'सबैका लागि गतिशीलता' को अवधारणाअनुसार आर्थिक वृद्धि, औद्योगिक विकास र समावेशी पहुँच विस्तारमा काम गर्दै आएको जनाएको छ ।