काठमाडौं । नेपालका लागि चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बजेट भाषणअघि भएका विद्युतीय गाडी आयात र भन्सार जाँचपासका सम्बन्धमा स्पष्टिकरण दिएको छ ।
चालू आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि ठूलो संख्यामा गाडी भन्सार पास गराएर राजस्व छली वा अनुचित लाभ लिन खोजेको भन्दै आलोचना भएपछि कम्पनीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।
साइमेक्स इंकले भन्सार जाँचपास गरिएका सम्पूर्ण सवारीसाधनहरू नेपाल सरकारको प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा स्थापित प्रक्रियाअनुसार नै पूर्ण रूपमा आयात गरिएको दावी गरेको छ ।
कम्पनीका अनुसार चीनतर्फको भन्सार क्षेत्रमा २२६ वटा सवारीसाधन आइपुगेको भए पनि तिनको हालसम्म भन्सार जाँचपास प्रक्रिया सम्पन्न भएको छैन । ती गाडीहरू अझै प्रक्रियाकै क्रममा रहेको कम्पनीले जनाएको छ ।


कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साइमेक्स इंकले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ लिएको छैन, न त त्यस्तो कुनै व्यवस्थाका लागि अनुरोध नै गरेको छ ।’
सरकारी निकायसँग मिलेमतो गरी कर परिवर्तनबाट बच्न खोजेको वा अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार, असत्य र कम्पनीको प्रतिष्ठामा आघात पुर्याउने खालको रहेको दाबी कम्पनीको छ ।
बजेट अगाडि गाडी भन्सार पास हुनुलाई कम्पनीले एक नियमित व्यावसायिक प्रक्रियाका रूपमा व्याख्या गरेको छ । ग्राहकहरूले पहिले नै बुकिङ गरिसकेका गाडीहरूको माग सम्बोधन गर्न ती साधनहरू आयात गरिएको साइमेक्सको भनाइ छ ।
यी सम्पूर्ण आयात कार्यहरू बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, मौज्दात व्यवस्थापन तथा यातायात र ढुवानीका चुनौतीहरूलाई ध्यानमा राखेर पहिले नै तय गरिएको योजनाअनुसार नै भएको कम्पनीले स्पष्ट पारेको छ ।
कम्पनीले आफू कानुनको पालना, पारदर्शिता र नैतिक व्यावसायिक अभ्यासप्रति सधैं प्रतिबद्ध रहेको दोहोर्याउँदै यस विषयमा हुने जुनसुकै वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने जनाएको छ ।
सत्यतथ्य स्थापित गर्न आवश्यक पर्ने आयात सम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशका कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी सम्पूर्ण दस्तावेजहरू सम्बन्धित निकायलाई उपलब्ध गराउन आफूहरू पूर्ण रूपमा तयार रहेको कम्पनीले उल्लेख गरेको छ ।
साइमेक्स इंकले सञ्चारमाध्यम तथा सरोकारवाला पक्षहरूलाई आधिकारिक अभिलेख र सम्बन्धित निकायबाट तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न आग्रह गरेको छ । सार्वजनिक रूपमा भ्रम सिर्जना गर्ने वा वैधानिक रूपमा सञ्चालन भइरहेका व्यवसायहरूको प्रतिष्ठामा क्षति पुर्याउने खालका सामग्री प्रकाशन नगर्न कम्पनीले अनुरोध गरेको छ ।
नेपालको वातावरणीय लक्ष्य प्राप्ति, इन्धन आयातमा कमी तथा दिगो यातायात (इलेक्ट्रिक मोबिलिटी) को विकासमा यस क्षेत्रले ठूलो योगदान दिएको भन्दै सार्वजनिक विश्वास कायम राख्न तथ्यमा आधारित समाचार सम्प्रेषण आवश्यक रहेको पनि कम्पनीले जनाएको छ ।
कर बढ्ने सूचना र मौखिक रिपोर्टले रातारात तरंग