वृद्ध किसानका दुःख सातामा सातैदिन बाँदरको चौकीदारी

तस्बिर : एआई

बलेवा । बागलुङको जैमिनी नगरपालिका– १, कुश्मीसेरा सिरुबारीका ७९ वर्षीय लक्ष्मीदत्त पाध्याको दैनिकी बाँदरको चौकीदारीमा बित्ने गरेको छ ।      

सिरुबारीको गैराबारी खेतमा उनको करिब सातमुरी मकै फल्ने जमिन छ । उक्त जमिनमा लगाएको मकै जोगाउन उनी बाँदरको चौकीदारी गर्छन् । बाँदरले मकै मात्र होइन, अन्य बाली पनि नष्ट गर्ने गरेको छ । 

बाँदरको आतंकले खेतबारीमा लगाएको मकै जोगाउन उनी चार वर्षदेखि नियमित रूपमा बाँदरको चौकीदारी गर्दै आएका छन् । उनी हरेक बिहान ५ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म सडक छेउको छाप्रोमा कुकुर र गुलेलीसहित चौकीदारी गर्छन् ।      

'बाँदर आयो भने मलाइँ  टेर्दैन्, कुकुर देखे केही पर जान्छन् गुलेलीसँग डराउँछन', लक्ष्मीदत्तले भने, 'बथानमा आयो भने त कुकुरलाई पनि टेर्दैनन् ।'     

सिरुबारी र आसपासका क्षेत्रमा बाँदरआतङ्क अहिले किसानका लागि सबैभन्दा ठूलो समस्या बनेको छ । कतिपयले खेती गर्नै छोडेका छन् ।      

जैमिनी नगरपालिकाका सबै वडामा बाँदर आतङ्कले हैरान बनाएको छ । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बाँदरआतङ्ककै कारण जैमिनीका केही बस्ती नै बसाइँसराइ गएको बताउँछन् । रासस      

Share News